इनरुवा । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा अहिले नेपाली कांग्रेसले वडा तहबाटै उम्मेदवारहरुको नाम संकलन गर्ने कार्य जारी राखेको छ ।
नेपाली कांग्रेस इनरुवा १० जल्पापुर वडा कार्य समितिले आउँदो स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष पदमा ८ जनालाई सिफारिस गरेको छ । नेपाली कांग्रेस इनरुवा १० वडा कार्य समितिले ८ जना उम्मेदवारको नाम सिफारिस गरेपछि उनीहरुले अहिले चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् भने जनताको घरदैलोमा पुगी कांग्रेसको रुख छापमा मतदान गर्न आग्रह गर्दै हिडेका छन् ।
नेपाली कांग्रेस इनरुवा १० वडा कार्यसमितिले वडाध्यक्ष पदका लागि ऐयुव मियाँ, हाजी खलिल मियाँ, ओली मोहम्मद, खलिल अख्तर, खलिल मियाँ(पैकार) , सबरुन खातुन, एैजुब मियाँ( मोटो) र बसिर मियाँ आकांक्षी देखिएपछि उनीहरुको नाम सिफारिस गरेको छ ।
इनरुवा १० का लागि वडाध्यक्ष पदका लागि ८ जना मध्ये युवा नेता ऐयुव मियाँ बलियो उम्मेदवारका रुपमा चर्चामा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएर इनरुवा १० मा वडाध्यक्ष पदमा सुल्तान मियाँ निर्वाचित भएका थिए । इनरुवा १० मा नेकपा एमालेको किल्ला भत्काउनका लागि नेपाली कांग्रेसका युवा नेता तथा निर्माण व्यवसायी ऐयुव मियाँले चुनावी मैदानमा उत्रिएका छन् । युवा नेता मियाँलाई नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट दिए आउँदो स्थानीय तहको निर्वाचनमा जित सुनिश्चित हुने इनरुवा १० जल्पापुर वडाबासीहरु बताउँछन् ।
नेपाली कांग्रेस इनरुवा १० का लागि युवा नेता मियाँ योग्य, दक्ष र अनुभवका अधारमा अहिले उनी वडामा नेपाली कांग्रेसको संगठन निर्माणसँगै घर घर जाऔं, कांग्रेस जिताऔं अभियानलाई तिब्रता दिदै कांग्रेसका उम्मेदवारलाई जिताउने अभियानमा उनी लागि परेका छन् ।
इनरुवा १० मा नेपाली कांग्रेसबाट ८ जना उम्मेदवारहरु मध्ये जोकोहीलाई वडाध्यक्ष पदका लागि टिकट दिए आफु खुलेर साथ सहयोग र जिताएर छाड्ने युवा नेता ऐयुव मियाँको कथन छ । कांग्रेसका लागि काम गर्ने जोश जागरका साथ वडामा लागेका युवा नेता मियाँले जनताको चाहना र माग अनुसार वडाध्यक्ष पदको आकांक्षी भएको उनले बताए ।
वडाबासीको चाहना र इच्छालाई पुरा गर्नका निमित आफु यसपटक कांग्रेसबाट उम्मेदवार बनी जित सुनिश्चित हुने गरी चुनावी अभियानमा होमिने उनले बताउँदै जनताको सेवामा लागि पर्ने युवा नेता मियाँको कथन छ ।