सुनसरी । खातुन केयर फाउण्डेशन नेपालका प्रबन्धक निर्देशक डा. अबुल हुसेन अन्सारीले प्रदेश नं.१ स्तरीय फुटबल प्रतियोगिता संचालन गरिने बताएका छन् ।
खातुन केयर फाउन्डेसन नेपालको आयोजनामा प्रदेश-१ स्तरीय फुटबल प्रतियोगिता संचालन हुने डा. अन्सारीले बताएका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रदेश-१ को खेलकुद विकासका लागि सकारात्मक रहेको बताएका छन् ।
प्रदेश-१ स्तरीय फुटबल प्रतियोगितामा आफ्नो पुर्ण समर्थन, साथ र सहयोग रहने युवा तथा खेलकुद मन्त्री गहतराजले प्रतिवद्वता जनाएका छन् ।
खातुन केयर फाउन्डेसन नेपालका प्रवन्धक निर्देशक डा. अन्सारीले युवा तथा खेलकुद मन्त्री गहतराजलाई भेटेर प्रदेश-१ को खेलकुद विकास र स्थानीय खेलाडीहरुको उत्पादनमा मन्त्रालयले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदको आर्थिक सहयोग तथा भोक्राहा नरसिंह गाउँपालिकाको सहकार्यमा खातुन केयर फाउण्डेशन नेपालले प्रदेश नं.१ स्तरीय फुटबल प्रतियोगिता गर्न लागेको हो ।
प्रदेश नं.१ का सबै जिल्लाबाट फुटबल टिम तथा संस्थागत टिमहरुको सहभागिता गराई सकभर वर्षात कट्न वितिकै असोजमा प्रदेश स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गराउने लक्ष्यका साथ तयारी अगाडी बढेको र विस्तृत जानकारी प्रेस सम्मेलन मार्फत सार्वजनिक गरिने समेत प्रबन्ध निर्देशक डा. अन्सारीले बताएका छन् ।
खेलकुदको मार्फत प्रदेश-१ लाई चिनाउन र स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरि राष्ट्रिय स्तरमा पहुँच पुगाउनको लागि प्रदेश स्तरीय फुटबल प्रतियोगिताले मद्दत पुग्ने उनले बताए ।
प्रदेश १ मा रहेका फुटबल खेलाडीहरुलाई संरक्षण र प्रवर्द्धनका लागि र राष्ट्रिय स्तरमा खेलाडीहरुको पहिचान कायम गर्नका लागि ठुलो मद्दत पुग्ने समेत उनले संचारकर्मीहरुको कुराकानीमा बताए ।
असोज मसान्तभित्र प्रदेश १ को १४ वटा जिल्लाका खेलाडीहरुलाई समावेश गर्ने गरि प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ ।
खातुन केयर फाउन्डेसन नेपालले सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेका छन् । यस अघि सुनसरी लगायत मुलुकको विभिन्न जिल्लामा नि:शुल्क पारासिटामाेल सर्वसाधारणहरुलाई बितरण गरेको थियो ।