सुकदेब चौधरी
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगर क्षेत्र भित्र रहेका बहिराअपाङ्गता भएका ब्यक्तिहरुको लागि एक महिने नेपाली साङ्केतिक भाषा सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।
इनरुवा नगरपालिकाको आयोजनामा उक्त एक महिने नेपाली साङ्केतिक भाषा तालिम सम्पन्न भएको हो । इनरुवा नगरपालिकाको सहयोग र बहिरा हित तथा संरक्षण समाज इनरुवाको आयोजनामा ३० दिने अर्थात एक महिने नेपाली साङ्केतिक भाषा तालिम सनिबार सम्पन्न भएको हो ।
नगरका बहिराअपाङ्गता भएका ब्यक्तिहरुको लागि नेपाली साङ्केतिक भाषा तालिम दिएको प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाका उपप्रमुख वीनिता मेहताको प्रमुख आतिथ्यता र अपाङ्गताको क्षेत्रमा कार्यरत बिभिन्न संस्थाहरुको उपस्थितीमा उक्त तालिमको समापन गरिएको हो ।
आयोजक संस्थाका अध्यक्ष अरसद मियाँले बहिराहरुको बिकासको लागी साङ्केतिक भाषा पहिलो सर्त भएको र भाषा जानेपछि मात्र अरु कार्यहरु गर्न सहज हुने भएकाले पहिले भाषाको ज्ञान भएपछि बिस्तारै अन्य सिपमुलक तालिमहरु लिन सहज हुने भएकोले यो तालिम बास्तवमै महत्वपुर्ण भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै बहिरा हित तथा संरक्षण समाजका उपाध्यक्ष मन्दिरा दाहालले साङ्केतिक भाषा तालिमको आवश्यकता र तालिमको महत्व माथि प्रकाश पार्नुभएको थियो । उहाँले तालिम निकै प्रभावकारी भएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा बहिराका अभिभावक देवनाथ मेहताले साङ्केतिक भाषाको अभावमा बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारमा पहुँच पुग्न नसक्ने र त्यसले उनिहरुको जिवन अन्धकारमय हुने कुरा व्यक्त गर्दै आगमी वर्षहरुमा यस्ता तालिमहरु वडा स्तरसम्म नै पर्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको सफल पारेकोमा शुभाकामना व्यक्त गर्दै राष्ट्रिय बहिरा महासंघ नेपाल नेता तथा कोशी प्रदेशका अध्यक्ष सिताराम ओझाले नेपालको संबिधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार ऐन लगायत अन्य कानुनहरुले ब्यवस्था गरेअनुरुप अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गर्न कठिन हुनेगरेको कुरा ब्यक्त गर्दै नगरपालिकाले बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारलाई मद्दत पुग्ने गरी गरेको यस कार्यको प्रशंसा समेत गर्नुभयो ।
प्रशिक्षक नितेश मेहता, नगर प्रमुख केदार भण्डारी सहितले तालिममा प्रोत्साहन गर्नुभएको थियो । बहिराहरुको बिकासको लागी साङ्केतिक भाषा पहिलो सर्त हुने र पहिले भाषाको ज्ञान भएपछि बिस्तारै अन्य सिपमुलक तालिमहरु लिन सहज हुने भएकोले यो तालिम सफल बनाउन आफुले सक्दो प्रयास गरेको तालिमका प्रशिक्षक नितेश मेहतालेले बताउनुभयो ।
अपाङ्गता लक्षित कार्यक्रमहरु कार्यन्वयनको लागी सम्वन्धित निकायसंग समन्वय गर्दै पालिकाको सबै लक्षित समुदायसम्म कार्यक्रम पुग्ने गरि कार्य गर्न आफु प्रतिवद्ध रहेको उपप्रमुख मेहताले जानकारी गराउनुभयो । तालिममा सहभागी हरी बहादुर सुवेदी, उमेश कोईराला, डिम्पल मेहता, टिकामाया पौडेल, पप्पु चौधरी, कन्याकुमारी साह, जोगिन्द्र साह, अकताल मियाँ, वीरेन्द्र चौधरी, राजकुमार आर्य सहितलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।