सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक सय ९० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पालिकाका विपन्न, गरिब र ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्षेत्रमा सहज पहुँच हुनका लागि एक सय ९० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पालिकाले स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका अपरिहार्य रहेको बताउनुहुँदै नागरिकको स्वास्थ्य सेवामा पहुँच हुन आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य बीमा कार्ड नबनाएकाहरुलाई पालिकाले एक वर्षका लागि एक घरपरिवारले एक लाख बराबरको निःशुल्क उपचार गर्न पाउने व्यवस्था मिलाइएकोले उनीहरुलाई धेरै राहत हुने उहाँले बताउनुभयो ।
यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले पालिकाभित्र गरिब, अति विपन्न, ज्येष्ठ नागरिकहरुलाई बिशेष प्राथमिकता दिई निःशुल्क स्वास्थ्य बीमा कार्ड उपलब्ध गराएको जानकारी दिनुभयो ।
पालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर जनताको भावना अनुसार काम गर्दै आएको पालिकाका अध्यक्ष अजादको भनाई छ ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्यहरु इस्राइल मन्सुरी,सदान्नद मण्डल, पालिका उपाध्यक्ष सुनिता उराँव,प्रमूख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे लगायतकाले निःशुल्क बीमा कार्ड वितरण गर्नुभएको थियो ।