इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवामा नयाँ आउनुभएकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीया पंगेनीले अस्पताल भित्र फार्मेसी संचालनमा ल्याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
जिल्ला अस्पताल इनरुवामा बुधबार युवाहरुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डाक्टर पंगेनीले अस्पताल भित्र फार्मेसी संचालन गर्नका लागि चाडै नै प्रक्रिया सूरु गर्ने बताउनुभयो । स्थानीयबासीको जनचाहना अनुसार अस्पतालको सेवामा थप सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
यस अस्पतालमा आफू पहिले पनि काम गरी सकेकोले अस्पतालको सम्पूर्ण समस्या बारे आफू जानकार रहेकोले जिम्मेवारी अनुसार भुमिका निर्वाह गर्ने उहाले बताउनुभयो ।
जिल्ला अस्पताल सुनसरी इनरुवाको सेवा सुधारका लागि नागरिकले दिएको सल्लाह सुझावलाई आफूले आत्मसाथ गरी काम गर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता लगायत इनरुवाका दर्जनौ अगुवा युवाहरुको सहभागिता रहेको थियो ।