सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ ।
जिल्ला बिपद् व्यवस्थापन समिति सुनसरीको आयोजना र कोशी गाउँपालिकाको संयोजन, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका तथा हरिनगर गाउँपालिकाको समन्वय एवं सहकार्यमा बाढी,आगलागी र भुकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले आगलागी, बाढी र भूकम्पमा आधारित कृत्रिम घटनाको अभ्यास विपद् व्यवस्थापन न्युनीकरण गर्नका लागि सानो प्रयास भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।
बाढी,आगलागी र भुकम्पका पूर्व तयारी तथा नागरिकलाई सचेतना जगाउने उद्देश्यले कृत्रिक घटनाको अभ्यास गरिएको र यसबाट नागरिकले अपनाउनुपर्ने सावधानी र प्रयासबाट कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनका लागि कृत्रिम अभ्यासले मानव जीवनमा थप मद्दत पुगाउने उहाँले जानकारी दिनुभयो ।
कोशी कटानमा बाढी, आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीका स्वयम सेवकहरुद्वारा अभिनय प्रस्तुत गरिएको थियो ।
सुनसरी प्रदेश सांसदहरु, सबै स्थानीय तहका प्रमुख,उप–प्रमुख,अध्यक्ष,उपाध्यक्ष, कार्यालय प्रमुखहरु, राजनितिक दलका प्रतिनिधि, गैर सरकारी महासंघ सुनसरी, पत्रकार महासंघ, नेपाल रेडक्रस, बिपद् क्षेत्रमा काम गर्ने बिभिन्न संघ÷संस्था, स्थानीय लगायतको सहभागिता रहेको थियो ।