भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा सम्पन्न सभामुख कप फुटबल प्रतियोगिताको उपाधी इटहरीले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा सिमरिया फुटबल क्लबलाई ३ :१ गोल अन्तरले हराउँदै शान्ति युवा स्पोर्टिङ क्लब इटहरीले उपाधी जितेको हो ।
उपाधीसँगै शान्ति युवा स्पोर्टिङ क्लब इटहरीले नगद २५ हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता सिमरिया फुटबल क्लबले नगद १५ हजारसहित सिल्ड,मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको सचिवालय र भोक्राहा नरसिंह गाउँपालीका ४ न. वडा कार्यालयको मुख्य सहयोगमा समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ ले जामिआ खेल मैदानमा कार्तिक १५ गतेदेखि प्रथम कोशी प्रदेश सभामुख कप-२०८० को आयोजना गरेको हो ।
प्रतियोगितामा आठवटा विभिन्न क्लबहरुको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता खेलाडीहरुलाई कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष हारुन अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ का अध्यक्ष सराजुद्दिन अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर १ का अध्यक्ष लक्ष्मण मेहता लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रथम कोशी प्रदेश सभामुख कप-२०८० को समापन कार्यक्रम समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष सेराज हुसेनको अध्यक्षता एवं कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने विभिन्न क्षेत्रका दर्जनौं व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।