इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ४ सुनसरी खोला नजिकबाट एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट सहित पक्राउ परेका एक भारतीय नागरिकलाई सुनसरी प्रहरीले सोमबार सार्वजनीक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी नक्कली नोट सहित एक भारतीय नागरिकलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भाारत सुपौल बिरपुर थाना बस्ने २२ वर्षीय छोटु भने मोहम्मद सैयद रहेको सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिनुभयो ।
इनरुवा–४ सुनसरी खोलाको पुलनजिक नियमित चेकजाचको क्रममा आइतबार साँझ प्रहरीले एक हजारको १८ हजार २ सय ५१ थानका गरि जम्ममा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट सहित सैयादलाई नियन्त्रणमा लिएको प्रहरी उरीक्षक रेग्मीले बताउनुभयो ।
बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उहाँले बताउनुभयो । स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नोट कारोवारमा अरु सलग्न रहेको बिषयमा अनुशन्धान भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकरी दिनुभयो । सुनसरीमा पहिलो पटक ठुलो परिणाममा नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।
यस अघि सुनसरीका इटहरीबाट १४ लाख रुपैयाँ सहित १ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका नक्कली नोटलाई गण्ना गर्नका लागि ६ जनालाई ५ घण्टा लागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अधिकांश नोटमा एउटै नम्वर रहेको छ भने केही नोटमा फरक÷फरक नम्वर रहेको प्रहरीले जनाएको छ । नक्कली नोटमा बिगतका कार्यकालको गर्भनरको हस्ताक्षर रहेको छ भने कुनै नोट खर्सो रहेको प्रहरीले जनाएको छ । नोट अन्य नोटको तुलनामा हलुको रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई मुलकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी सुनसरी जिल्ला अदालतबाट म्याद थप भई थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मुलकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा १० बर्ष सम्म कैद र पच्चास हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।