इनरुवा । सुनसरीमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्लामा क्रियाशील पत्रकारहरूसँग एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आज सम्पन गरेको छ ।
सुरक्षित आप्रवासन कार्यक्रमले जिल्लामा रहेर गरेका कार्यक्रम, उद्देश्य, नीति, प्रभाव, उपलब्धि लगायत विषयका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको सामी कार्यक्रम सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा सुनसरीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयहरू, वित्तीय साक्षरता कक्षा सञ्चालन, मनोसामाजिक परामर्श पछिका परिवर्तनका मुख्य सूचकहरूका विषयमा सामी कार्यक्रमका संयोजक भट्टराईले जानकारीभयो । साथै कार्यक्रममा सूचनामा पहुँच तथा जिल्लाको समग्र वैदेशिक रोजगार सम्बन्धी विषयमा छलफल समेत गरिएको थियो ।
उक्त कार्यक्रममा सामी हेल्भेटासका कार्यक्रम अधिकृत देव नारायण चौधरीले वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्ससगैँ सिपले स्वदेशमै केही गर्ने वातावरण सृजना गर्न सामीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो । उहाँले प्रस्तुत उपलब्धिहरूलाई विश्लेषण गर्दै विदेश जानै परे सिप सिकेर जान र स्वदेश फर्किएसँगै थप विदेशमा सिकेको सिपलाई आफ्नै ठाउँमा प्रयोग गर्न समेत सुझाउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रशासन कार्यालय धरान स्थित आप्रवासी श्रोत केन्द्रको समन्वयमा प्राप्त भएका उजुरीको अधारमा १ करोड ९२ लाख २५ हजार क्षतिपूर्ती उपलब्ध गराएको छ । त्यसैगरी गत साउनदेखि फागुन मसान्त सम्म २ सय ५० उजुरी मध्ये १ सय २७ फर्छोयोट भएको र १ सय २३ बाँकी रहेको छ ।
आप्रवासी श्रोत केन्द्र सुनसरीबाट १३ हजार २ सय ३५ जना व्यक्तिगत तथा सामुहिक परामर्श गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । सुनसरीमा मनोसमाजिक सम्वन्धी समस्या ८५ जनामा देखिएकोमा ४१ जनामा समस्या समाधान गरिएको सामीको तथ्यांकमा उल्लेख गरिएको छ ।
रिटर्नी स्वंयसेवक परिचालनबाट १० हजार ८ सय ७४ जनामा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई सूचना प्रवाह गरेको मध्ये १ हजार २३ जनामा फलोअप गरेको छ । सीप तालिममा १ सय ११ जनालाई रेफर गरेको मध्ये ३१ जना तालिम प्राप्त गरेका छन् । सामी कार्यक्रमले समुदायमा १६ वटा अभिमुखिकरण र ८ वटा गहन अभिमुखिकरण गरेको छ ।
सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा १३ हजार १ सय १० घरधुरीमा सर्वेक्षण गर्दा १ हजार २ सय ७८ जना पुरुषले दोश्रो विवाह गरेका छन भने ६० जना महिलाले दोश्रो विवाह गरेका हुन् । उनीहरु वैदेशिक रोजगारीमा गएका पुरुष र महिलाले दोश्रो विवाह गरेको सामीले सर्वेक्षण गरेको तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा पत्रकार जयकृष्ण यादवले बैदेशिक रोजगार र समाचार लक्ष्य विषयमा सहजीकरण गर्नुभएको थियो । आज भएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा जिल्ला स्थित क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।