जनकपुरधाम
पछिल्लो समय मधेस प्रदेशमा हत्याका घटना शृङ्खलाबद्ध भइरहेका छन् । व्यक्तिगत रिसिइबी तथा सामान्यखाले विवादमा हत्याका घटना हुने गरेको प्रहरी विश्लेषण छ ।मधेस प्रहरीको तथ्याङ्कमा एक वर्षमा ८ वटा जिल्लामा १२६ जनाको हत्या भएको छ । गत आर्थिक वर्ष ०८०र०८१ प्रदेशका आठ वटै जिल्लामा गरी ७८ पुरुष र ४८ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।
यो एक वर्षमा सबै भन्दा बढी धनुषामा हत्याका घटना भएका छन् । समीक्षा अवधिमा धनुषामा १४ जना पुरुष र ७ जना महिला गरी २१ जनाको हत्या भएको तथ्याङ्क छ ।
सबैभन्दा कम महोत्तरीमा हत्याका घटना भएका छन् । प्रहरीका अनुसार यहाँ ७ जना पुरुष र २ महिलाको गरी कुल ९ जनाको हत्या भएको छ ।
बढी हत्या हुने जिल्लामा दोस्रो स्थानमा सिरहा छ, जहाँ एक वर्षमा ९ पुरुष र ११ महिला गरी २० जनाको हत्या भएको छ । पर्सामा १७, बारामा १४, रौतहटमा १७, सर्लाहीमा ११, सप्तरीमा १६ जनाको हत्या भएको मधेस प्रहरीको तथ्याङ्क छ ।
ती हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १४७ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जनाए । उनका अनुसार पक्राउ पर्नेहरूमा १२५ जना पुरुष र २२ जना महिला छन् ।