इनरुवा । लामो समयदेखि स्थानीयहरुले विरोधका विच निर्वाध सञ्चालन हुँदै आएको सुनसरी जिल्ला दुहबी– ६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको प्रतिनिधिसभा सदस्य भगवती चौधरीले अनुगमन निरीक्षण गरेकी छिन ।
त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् दुहबी प्रहरीको रोहबरमा, स्थानीय सञ्चारकर्मी, स्थानीयबासीहरू सहितको टोलीसहित निरीक्षण तथा अनुगमन गरिएको हो ।
अनुगमनको आधिकारिक पत्र लिएर निरीक्षण गर्न जाँदा समेत उद्योगको गेटमै रोक्न उद्योग प्रशासनले प्रयास गरेकोमा नेपाल प्रहरीले हस्तक्षेप गरि अनुगमन गर्न सहजीकरण गरेको थियो ।
अनुगमनको क्रममा युनाइटेड टनेरिजले उद्योग सम्बन्धी कागजात देखाएको भएपनि एशियन लेदरले कागजात घरमा रहेको भन्दै मगाउन समय लागेको भनेर उपलब्ध गराउन सकेन ।
युनाइटेड टनेरिजलाई जिल्ला प्रशासन कार्यालयले तत्काललाई उद्योग बन्द गर्न निर्देशन दिँदै गत असोज ६ गते पत्र पठाएको भएपनि उद्योग भित्रभित्रै चलिरहेको तथा उद्योगबाट निस्किएको फोहोर पानी बुढी खोलामा मिसाएको भेटिएको थियो ।
उद्योग सञ्चालन सम्बन्धी मापदण्डमा बस्तीबाट ५ किमी टाढा हुनुपर्ने व्यवस्था भएपनि उक्त छाला उद्योग बस्तीको बिचैमा रहेको पाइएकोले बस्तीमा दुर्गन्ध नफैलाउन, फोहोर खोलामा नहाल्नका लागि उद्योग स्थानान्तरण गर्न आवश्यक रहेकोले कारवाही र सचेतनाका लागि निर्देशन दिएको सांसद चौधरीले बताईन । सभार : वणर्माला दैनिक ।