इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको उम्मेदवार बन्ने लर्को लागेको छ ।
आउदो मंसिर १३ गते शनिवार हुने निर्वाचनमा मनोनयन दर्ता गर्ने उम्मेदवारको सुचीमा अधिकाश जनप्रतिनिधि , प्रदेश तहका नेता र जिल्लाका पदाधिकारीका साथै सचिवालय सदस्यहरुको लामो सुची रहेको छ ।
नेकपा एमाले सुनसरीका प्रमुख निर्वाचन अधिकृत उद्धव काफलेका अनुसार सुनसरी जिल्लाबाट खुल्ला महिला युवा र दलित भुगोलमा हुने २५ जना प्रनिनिधि चयनको निर्वाचनमा १ सय २७ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन।
सुनसरी क्षेत्र नम्बर १ बाट खुल्ला तर्फ ३ जना, महिला तर्फ २ जना र युवा तर्फ १ जना उम्मेदवार निर्वाचित हुने व्यवस्था अनुसार ३१ जना उम्मेदवार चुनावी भिडन्तमा उत्रिएका छन ।
क्षेत्र नम्बर २ बाट खुल्ला तर्फ ४ जना, महिला तर्फ ३ जना र युवा तर्फ १ जना उम्मेदवार निर्वाचित हुने व्यवश्था अनुसार ३४ जना उम्मेदवार चुनावी भिडन्तमा उत्रिएका छन ।
क्षेत्र नम्बर ३ बाट खुल्ला तर्फ २ जना, महिला तर्फ २ जना र युवा तर्फ १ जना उम्मेदवार निर्वाचित हुने व्यवश्था अनुसार २५ जना उम्मेदवार चुनावी भिडन्तमा उत्रिएका छन ।
क्षेत्र नम्बर ४ बाट खुल्ला तर्फ २ जना, महिला तर्फ २ जना र युवा तर्फ १ जना उम्मेदवार निर्वाचित हुने व्यवश्था अनुसार २७ जना उम्मेदवार चुनावी भिडन्तमा उत्रिएका छन ।
सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट प्रदेशसभा सासंद रमेश बस्नेत, विजयकुमार राई, पुर्व सासंद जयकुमार राई, नेता मुरारी सुवेदी, नन्द बस्नेत र पदमबहादुर लिम्बुसहितका उम्मेदवार बनेका छन ।
सुनसरी २ नम्बर निर्वाचन क्षेत्रबाट काेशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, प्रदेश सासंद निरादेवी खनाल, प्रदेश सासंद रामप्रसाद मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, उपमेयर तारा थापा, जिल्ला अध्यक्ष पर्शुराम यादव, सचिव राम कोइराला रहेका छन ।
यसैगरी २ नम्बर निर्वाचन क्षेत्रबाट दुईपटक एमाले सुनसरीको अध्यक्ष पदका प्रत्याशी बनेका नेता खेमराज पोखरेल, एमाले भित्र लाेकप्रिय युवा नेताका रूपमा रहेका सरोज पोखरेल, युवा सामाजिक अभियन्ता मेघराज न्यौपाने, युवा नेता कृष्ण भटराई, पुर्व राष्ट्रसेवक केदार न्यौपानेसहितका नेताहरु रहेका छन ।
अन्य उम्मेदवारमा समेत विभिन्न तहमा एमालेकाे संगठनभित्र नेतृत्व रहेकाहरूकाे बाहुल्यता रहेको छ ।
सुनसरी २ नम्बर क्षेत्रमा हेभिवेट उम्मेदवार बन्दा मतदाता रहेका एमाले कार्यकर्ताहरू यसपटक नयाँ अनुहार राेज्ने मुडमा देखिएका छन ।
सुनसरी ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रदेश सासंद रामदेव यादव, गढी गाँउ पालिकाका अध्यक्ष आशाराम चौधरी, पुर्व सासद लिलम बस्नेतसहितका नेताहरु उम्मेदवार बनेका छन ।
सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट इनरुवा नगरपालिका ३ नम्बर वडा ठेगाना भएका ८ जनाले उम्मेदवारी दिएका छन ।
उम्मेदवारी दिनेमा कालुराम गुरुङ, लता भट्टराई, सरोज बराल, सविना सिग्देल, रमेशकुमार श्रेष्ठ, तुलसा दाहाल, कृष्ण पोखरेल र जिनियस निरौला रहेका छन ।
यसैगरि दलित तर्फको भुगोलबाट १ जना निर्वाचित हुने प्रतिनिधिमा ६ जनाको उम्मेदवारी परेको छ ।












