काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्।
पार्टी संस्थापनले भने यसलाई विधानविपरीत भन्दै सहभागी नहुन कार्यकर्ताहरूलाई अपील गरेको छ।
महामन्त्रीद्वयद्वारा जारी एक वक्तव्यमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गरेको दाबीसाथ भनिएको छ, “विधानबमोजिम कारणसहित माग गरेको महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन।”
केन्द्रीय कार्यसमितिले नै महाधिवेशन आह्वान गरोस् भनेर अधिकतम प्रयास गरिएको तर त्यो असम्भव भएको भन्दै उनीहरूले भनेका छन्, “यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैँ क्रियाशील हुन्छ।”
तर केन्द्रीय कार्यालयका तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भने विशेष महाधिवेशनलाई विधानविपरीत भनिएको छ।
“पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ।”
“तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ।”
सभार : बिबिसि न्युज नेपाली












