टोमराज मेहता
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका र कोशी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी हुुनुपर्ने माग गरिएको छ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी र कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको संयुक्त टोली गृहमन्त्री बालकृष्ण खाँणसँग भेटेर दुवै इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरवन्दी सहित इलाकालाई ‘क’ वर्गमा सूचिकरण गर्नका लागि डेलिकेशन गएको थियो ।
हरिनगर गाउँपालिकामा एक मात्र इलाका प्रहरी कार्यालय रहेको छ भने कोशी गाउँपालिकाको लौकहीमा एक मात्र इलाका प्रहरी कार्यालय रहेको हुदाँ प्रहरी निरीक्षकको व्यवस्था मिलाउनका लागि आग्रह गरिएको छ ।
हरिनगर र कोशीका अध्यक्षद्वय काठमाण्डौ पुगेर बिभिन्न मन्त्रालय पुग्ने क्रममा गृहमन्त्रालयमा समेत डेलीकेशन गएका हुन् । हरिनगर र कोशी गाउँपालिकामा इलाका प्रहरी कार्यालयलाई ‘क’ वर्गमा सूचिकरण गर्नका लागि डेलिकेशन मार्फत अनुरोध गरिएको छ ।
दुवै इलाकालाई ‘क’ वर्गमा सूचिकरण गर्नका लागि मापदण्ड पुरा भएकोले छिटो भन्दा छिटो प्रक्रिया अगाडी बढाएर प्रहरी निरीक्षक दरवन्दी पठाउनका लागि गृहमन्त्रीलाई भेटेर उनीहरुले कार्यान्वयन्त गर्नका लागि आग्रह समेत गरेका छन् ।
सुनसरीको भारतीय सीमावर्ती क्षेत्रमा रहेको हरिनगरा र लौकहीको इलाकामा प्रहरी निरीक्षकको दरवन्दी नभएर समयमा जनतालाई सेवा दिन नसकेको स्थानीयबासीहरुको गुनासो छ । इलाका प्रहरी कार्यालयहरुमा दरवन्दी अनुसार प्रहरी समेत नभएको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले इलाका प्रहरी कार्यालय लौकहीमा आवश्यक पर्ने मापदण्ड पुरा भएकोले वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँणलाई समस्याका बारेमा गुनासो गरेका थिए । कोशीका अध्यक्ष अन्सारीले इलाकामा भौतिक पुर्वाधारको कमी नभएकोले ‘क’ वर्गमा सूचिकरण गर्नका लागि गृहमन्त्रीलाई आवश्यक प्रक्रिया अगाडि बढाएर तत्काल प्रहरी निरीक्षकको व्यवस्था मिलाउनका लागि आग्रह गरिएको छ । सीमा क्षेत्रमा हुने गरेको तस्करी, लागू औषध कारोवार, चोरी, डकैती र सीमा अपराध लगायतका कुराहरुमा प्रहरी निरीक्षक आएपछि न्युनीकरण हुनेमा विश्वस्त रहेको उनले बताए ।
लामो समयदेखी इलाका प्रहरी कार्यालय लौकहीलाई ‘क’ वर्गमा सूचिकरण गर्न कसैले प्रयास नगरेपछि आफु अध्यक्ष भएको साढे चारवर्षमा धेरै पटक गरेकोले वर्तमान सरकारले मागलाई सम्वोधन गर्नेमा कुनै शंका नरहेको उनले बताए । कोशीका अध्यक्ष अन्सारीका अनुसार सुनसरी क्षेत्र नम्बर–४ का समस्याहरुको बारेमा गृहमन्त्रीसँग छलफल भएको हो । कोशी गाउँपालिकाको प्रमुख समस्या कोशी टप्पु वन्यजन्तु आरक्षका हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र पीडित परिवारलाई क्षतिपुर्ती समयमै उपलब्ध गराउनका लागि सो टोलीले पहल समेत गरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षका जंगली जनावर र मानवबीचको द्वन्द्वलाई न्युनीकरण गर्नका लागि आवश्यक नीति तथा योजनाका बारेमा समेत गृहमन्त्रीलाई अध्यक्ष अन्सारीले अवगत गराएका थिए । त्यसैगरी हरिनगरका अध्यक्ष गफार अन्सारीले इलाका प्रहरी कार्यालय हरिनगरालाई समेत ‘क’ वर्गमा सूचिकरण गरी प्रहरी निरीक्षकको व्यवस्था मिलाउनका लागि गृहमन्त्रीलाई मन्त्रालयमा पुगेर आग्रह गरेका थिए । सुनसरीको दक्षिणवर्ती क्षेत्रको पुरानो इलाका प्रहरी कार्यालय हरिनगरा भएकाले त्यस क्षेत्रका शान्ति सुरक्षा व्यवस्था कायम गर्नका लागि भएपनि प्रहरी निरीक्षकको तत्काल व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरिएको थियो ।
इलाका प्रहरी कार्यालय हरिनगराको नवनिर्वित भवन पुर्व उपप्रधान तथा गृहमन्त्री बिजय गच्छदारले उद्घाटन गरेको कुरा समेत गृहमन्त्रीलाई अवगत गराउँदै भारतीय सीमासँग जोडिएकोले प्रक्रिया पुरा गरी तत्काल मागलाई सम्वोधन गर्न सो टोलीले जोड जोड दिएको थियो । सो टोलीको भेटघाट फलदायक रहेको बुझिएको छ । सो टोलीले आफ्ना कुरा राखिसकेपछि गृहमन्त्रीले यथाशीघ्र सम्बोधन गरिने समेत बताएको बुझिएको छ ।












