इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर–४ को हरिनगर गाउँपालिकाको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।
केही दिन अघि अविरल वर्षाका कारण सुनसरी डुबानमा परेका हुनाले किसानहरु बढी मार्कामा परेकोलाई मध्यनजर गर्दै मन्त्री कार्कीले सुनसरीको हरिनगर गाउँपालिकाका वडाहरुमा पुगेर निरीक्षण गरेका हुन् ।
सुनसरी क्षेत्र नम्बर–४ का सांसद समेत रहेका मन्त्री कार्कीले जनताको समस्यालाई समाधान गर्नका लागि उनी सहितको टोलीले सो पालिका पुगेर निरीक्षण गरेको बताइएको छ ।
बाढी, डुबान र पहिरोबाट क्षति भएको बाढी पीडितहरुको अवस्था बुझनका लागि सुनसरी क्षेत्र नम्बर–४ पुगेर उनले प्रत्यक्ष निरीक्षण् गर्दै जनताको समस्यालाई समाधान गर्न आफु तत्पर रहेको मन्त्री कार्कीको भनाई छ ।
सुनसरी क्षेत्र नम्बर–४ का जनतासँग प्रत्यक्ष भेटघाट गरेर गुनासो सुन्दै मन्त्री कार्कीले बाढीपीडितहरुलाई राहत प्याकेज उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । मन्त्री कार्कीले हरिनगर गाउँपालिकाका ७ वटा वडाका ३५ जनालाई बेरोजगार युवाहरुलाई रोजगारी सिर्जना गर्नका लागि बैंकबाट साढे तीन प्रतिशतको व्याजदरमा दुई लाखका दरले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
हरिनगर गाउँपालिका–६ को अरनामा टोलको सुनसरी खोलामा पुल नहुदाँ सर्वसाधारणहरुले बाढीबाट समस्या झेल्दै आएकोले त्यस ठाउँमा पुलको व्यवस्था मिलाउने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
हरिनगर–४ मा समेत सर्वसाधारणहरुसँग भेटघाट गरी अवस्था उनले बुझेका थिए । बाढीबाट किसानहरुले लगाएको धानवाली, तरकारीबाली, जुट खेती लगायतका बाली नष्ट भएको गुनासो गर्दै किसानहरुले सरकारले राहतको प्याकेज ल्याउन अनुरोध गरेका थिए ।
त्यसैगरी हरिनगर–१ र २ वडाका सर्वसाधारणहरुले सुनसरी खोलालाई व्यवस्थित गर्नका लागि ठोस योजना ल्याउनुपर्ने धारणा राखेका थिए । सुखसेना नहर अस्तव्यस्तका कारण सिचाई नभएकाले किसानहरु मारमा परेकाले नहरलाई व्यवस्थित गर्न बजेट बिनियोजनसँगै गुरु योजना बनाउन उनलाई सर्वसाधारणहरुले आग्रह गरेका थिए ।
हरिनगर–५ बसन्तपुरमा समेत उनको टोलीले निरीक्षण गरेका थिए । बसन्तपुरका सर्वसाधारणहरुसँग समस्या र राय लिएका थिए । बैमोसमी वर्षाका कारण डुवानमा परेका सर्वसाधारणहरुले यस वडामा विकास गर्न सुझाएका थिए । मन्त्री कार्कीले इनरुवा–८ का बाढीपीडितहरुलाई राहत समाग्री वितरण गरिएको थियो । शनिवार ३५ घरपरिवारलाई राहत समाग्री वितरण गरिएको थियो ।
त्यसैगरी मन्त्री कार्की सहितको टोलीले सुनसरी प्रहरी कार्यालयमा मृत भेटिएका मोहम्मद हकिम साहको घरमा पुगेर उनका परिवारसँग भेटघाट गर्दै सरकारले छानविन गरेर दोषीलाई कडा कार्वाही हुने विश्वास व्यक्त गरेका थिए ।
आइतवार मन्त्री कार्कीले मृतक हमिक साहका समर्थकहरुले इनरुवा–९ बवियाका विष्णु शर्माको घरमा आगजानी गरेको विषयलाई बुझन समेत शर्माको घरमा पुगेको थियो । त्यसैगरी भोक्राहा नरसिंहमा अविरल वर्षाका कारण आएको बाढीमा एक जनाको ज्यान गुएको थियो । मृतक परिवारलाई भेटेर मन्त्री कार्कीले मृतक परिवारलाई सरकारले दुई लाख रकम दिने घोषणा गरेको बताए ।













