इनरुवा । नेपाली कांग्रेस इनरुवा न.पा. वडा नं. १ को आयोजनामा बिहीबार नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ ‘ख’ को इनरुवा बजारमा ‘रोड शो’ सम्पन्न भएको छ । आजबाट सुरु हुने मौन अवधिलाई मध्यनजर गर्र्दै एकदिन अगाडि अर्थात बिहीबार ‘रोड शो’ आयोजना गरिएको हो ।
उक्त ‘रोड शो’ कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का प्रत्यक्षतर्फका प्रत्यासी सिताराम मेहता, प्रदेश समानपातिकतर्फकी प्रत्यासी फरिदा खातुन, संजय श्रेष्ठ र प्रदेश २(ख) प्रत्यक्ष सभासदका प्रत्यासी राजीव कोइरालाको सहभागिता रहेको थियो ।
‘रोड शो’ कार्यक्रममा हजारौं इनरुवाबासीको प्रत्यक्ष सहभागिता रहेको थियो । इनरुवा न.पा. वडा नं. १ का निवर्तमान वडाध्यक्ष रामचन्द्र पौदारको घरमा रहेको वडा नं. १ को वडा कार्यालयबाट सुरु भएको उक्त ‘रोड शो’ कार्यक्रम वडा नं. १ को बजार एरिया, बजारका भित्रि सडक, वडा नं. २ को पिपलबोट हुँदै नेपाली कांग्रेस २ नं. वडा कार्यालयमा पुगी सम्पन्न भएको थियो ।
प्रचार प्रसारको अन्तिम दिन नेपाली कांग्रेसबाट यस क्षेत्रमा प्रत्यासी बनेका उम्मेदवारहरुलाई जिताउन हौसला मिलोस भनेर उक्त ‘रोड शो’ कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस वडा नं. १ का निवर्तमान वडाध्यक्ष एवं सभापति रामचन्द्र पौदारले बताए ।












