इनरुवा । सुनसरीको इनरुवामा आप्रवासी कामदार दिवस मनाउने भएको छ । सामुदायिक विकास संस्था सिडिओ सुनसरीको समन्वय र सामी परियोजनाको सहयोगमा एक हप्तासम्म आप्रवासी कामदार दिवस मनाउन लागिएको सामी कार्यक्रम सुनसरीका संयोजक धिरज भट्टराईले बताएका छन् ।
सुरक्षित बैदेशिक रोजगारको लागि कार्यरत सामी परियोजनाको नेत्तृत्वमा वैदेशिक रोजगारसँग सम्बद्व भएका सबैको सहभागिता हुने गरि आप्रवासी कामदार दिवस विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको छ।
यो दिवस प्रत्यक वर्ष डिसेम्बर १८ तारिखमा मनाउदै आएको छ। यस वर्ष ‘सीप र रोजगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने नाराका साथ डिसेम्बर १२ देखि १८ सम्म मनाउन लागिएको हो।
आप्रवासी कामदारका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाको सहयोगमा स्थानिय तहमा कार्यक्रम आयोजना गरिने सामी परियोजानाका सुनसरी जिल्ला संयोजक भट्टराइले जानकारी दिए ।
विभिन्न ४ वटा स्थानीय निकायको संलग्नतामा जिल्लामा विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिने यसका लागि श्रम मन्त्रालय र वैदेशिक रोजगार बोर्डले समन्वय गर्ने सामी हेल्बेटासका कार्यक्रम अधिकृत देव नारायण चौधरीले बताए।
संयुक्त राष्ट्र संघले सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको थियो।
त्यही दिनलाई संसारभर आप्रवासी कामदार दिवसका रुपमा मनाइँदै आएको छ। आप्रवासी कामदार दिवसको अवसरमा दिप प्रज्ज्वलन ,अन्तरक्रिया र सडक नाटक गर्ने आयोजक संस्थाले जनाएको छ ।