हामी दुवैलाई थाहा छ
तिमी बिना मेरो संसार हुन्न
म बिना तिम्रो संसार रहन्न
हामी दुई साथै रहँदा मात्र
हाम्रो अस्तित्व, धर्तीको निरन्तरता
मानव अस्तित्व सम्भव छ तर
तिम्रा नीति, नियम र मूल्य मान्यता
तिम्रै मूल्यांकन र तिम्रै तरिका
अब
आरोप प्रत्यारोप सह्य छैन मलाई
त्यसैले आऊ समझदारी गरौँ
अबदेखि तिमी र म छुट्टिएर बसौँ।
तिमी आफूलाई बलवान् ठान्छौ तर म कमजोर?
तिमी शक्ति प्राप्त छोरा अनि म दोस्रो दर्जाको नारी?
तिमी अधिकार प्राप्त अनि म माग्ने?
जन्मसिद्ध तिमी बलवान, म निरीह?
तिम्रो रिस, आवेग, पशुत्व सबै मैले किन थाम्ने?
तिमी शाषक अनि म शाषित हुने?
सफलतामा तिम्रो पौरख तर असफलतामा मेरो दोष?
अब
यो सब सह्य छैन मलाई
त्यसैले आऊ समझदारी गरौँ
तिमी र म छुट्टिएर बसौँ।
सह-सम्बन्ध त स्वीकारेकै छ नि तर
तिम्रो छाडा, उन्माद, र सन्कीमा
म किन बलात्कृत हुने?
तिमी बलवान छौ रे मैले किन कुटाइ खाने?
तिमी जन्मदेखि एकरुप हुने
मैले जन्मको पहिचान मेटाएर पनि नपुग्ने?
तिमी समुद्र अनि म खहरे?
म तिम्रो नाममा धाइरहनु पर्ने
तिमी जति पनि ग्रहण गर्ने?
अब
अहँ यो मलाई सह्य छैन
त्यसैले आऊ समझदारी गरौँ
तिमी र म छुट्टिएर बसौँ।
तिमीले गरेको कामको मूल्य आउँछ
तर म ज्यालाबिनै जीवन सकाउँछु
तिम्रो पैसाको हिसाब हुने मेरो जीवन गणना नहुने?
हामी मौका परे शक्ति देखाउँछौँ
तर सहनु पर्ने मैले मात्र?
समाजका गलत व्यवस्थाको शिकार
मैले कति सहनु, कति भोग्नु?
अब
कुटाइ, गाली, बेइज्जति भो सह्य छैन मलाई
त्यसैले आऊ समझदारी गरौँ
तिमी र म छुट्टिएर बसौँ।
आऊ दुइटा किल्ला खडा गरौँ
वारि पारि जहाँ बस्छौ, रोजेर बस
तिमी मेरो किल्लामा हेर्दै नहेर
म तिम्रो किल्लामा छिर्दै छिर्दिनँ
जीवनको हिसाब किताब गरौँ
यो बस्ती, धर्ती र संरचना ध्वस्त पारौँ
एकअर्काको अभाव, महत्व र मूल्य बुझौँ
नयाँ बस्ती, नयाँ सोच र नयाँ संसारको आधार खडा गरौँ
अब
भो यो एकांकी र अन्यायी समाज चाहिँदैन मलाई
त्यसैले आऊ नयाँ समझदारी गरौँ
तिमी र म छुट्टिएर बसौँ।