डाका, सवारी ज्यान र चोरी मुद्धाका तीन फरार प्रतिवादी जेल चलान भएका छन् ।
झापा जिल्ला अदालत भद्रपुरको २०७६ माघ २१ गतेको फैसला अनुसार डाका मुद्दाका प्रतिवादी मेचीनगर १० का विष्णुप्रसाद राजवंशीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।
उनले राखेको धरौटीबाट जरिवाना सदर भएको र कैदको हकमा २३ दिन असुल भई बाँकी ५ महिना ७ दिन बेरुजु रहेको अबस्थामा उनी फरार भएका थिए ।
खोजतलास गर्ने क्रममा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विहीबार उनलाई पक्राउ गरेर झापा जिल्ला अदालतमा उपस्थित गराईएको थियो ।
त्यस्तै, झापा जिल्ला अदालतको २०६९ कात्तिक २३ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दाका प्रतिवादी मेचीनगर २ का ३५ वर्षिय विसुन दनुवारलाई दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।
जरिवाना उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा २२ दिन असुल भई बाँकी १ महिना ८ दिन बेरुजु रहेको अबस्थामा उनी फरार भएका थिए । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले शुक्रबार उनको घरबाट पक्राउ गरेको थियो ।
त्यस्तै, झापा जिल्ला अदालतको २०७६ माघ २४ गतेको फैसला अनुसार चोरी मुद्दाका प्रतिवादी मेचीनगर १० का २८ वर्षिय श्याम ठाकुरलाइ ६ महिना कैद र ५ हजार जरिवाना सुनाइएको थियो ।
जरिवाना उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा २४ दिन असुल भई बाँकी ५ महिना ६ दिन बेरुजु रहेको अबस्थामा फरार रहेका उनलाई विहीबार घरबाट पक्राउ गरिएको थियो ।
उनीहरु सबैलाई अदालतमा उपस्थित गराएर जेल चलान गरिएको झापा प्रहरीले जनाएको छ ।