आज शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनस् बैठक बस्नेछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले बिहीबार धारणा राखेका थिए।
कांग्रेसले सोमबार देशका १६५ वटै निर्वाचन क्षेत्रबाट प्रधानमन्त्री ओलीको कदमविरूद्ध प्रदर्शन गर्नेसमेत निर्णय गरेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको निरन्तरको दवावपछि कांग्रेसले आन्दोलनमा जाने निर्णय गरेको छ।
कांग्रेसमा अहिले मुख्यगरी प्रधानमन्त्रीले चालेका कदम असंवैधानिक भएकोमा सडकबाट प्रतिरोध गर्नुपर्ने आवाज छ। यस्तै कम्युनिष्टहरू सँग मिलेर जान नहुनेमा कांग्रेसका नेताहरू छन्।
केसीले पनि बिहीबारको केन्द्रीय समितिमा यसबारे आफ्नो धारणा राख्दै भनेका छन्, ‘नेकपाका दुवै समूहसँग कांग्रेसले समदूरी र समान व्यवहार गर्नुपर्छ। स्थानीय तहबाटै दैशैभरबाट यो सरकारविरूद्ध आन्दोलन गरौं।’
बैठकमा उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलनमा जानुपर्ने बताएका थिए।
उनले प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरेकोले विरोध गर्नुको अर्को विकल्प नहुने बताएका छन्।
‘उपसभापति निधिले कम्युनिष्टहरूसँग सहकार्य गर्न हुन्न भन्नुभयो,’ उक्त बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न मिल्दैन। पुनर्स्थापनाका लागि आन्दोलन गरौं।
तर आन्दोलनबाट पुनर्स्थापना हुन सक्ने अवस्था रहेन वा सर्वोच्चबाट पनि पुनर्स्थापना हुने भएन भने चुनावमै जानुपर्ने हुनसक्छ। चुनावमा जाने बेला कुनै पनि समूहसँग पनि सहकार्य गर्न जरूरी छैन।’
उक्त बैठकमा बोलेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए। उनले आन्दोलनमा जान ढिला गर्न नहुने बताएका थिए।
यस्तै पार्टीको महाधिवेशन गर्नतर्फ सभापति शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत सिंहले गराएका छन्।