हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिकाका प्रधानाध्यापक र शिक्षक गरी चार चरणमा एक सय २० जनालाई तीन÷तीन दिने इमिस तालिम दिएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरको आयोजना र हरिनगर गाउँपालिकाको सहयोगमा चार चरण गरी एक सय २० प्रधानाध्यापक र शिक्षकलाई इमिस तालिम दिएको हो ।
सामुदायिक, धार्मिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई पहिलो, दोश्रो, तेस्रो र चौथो चरणमा ३०/३० जना गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी तालिम प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरले जनाएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरका प्रमुख तथा कार्यक्रम संयोजक गुणराज ढकालले विद्यालयका प्रधानाध्यक र शिक्षकहरुलाई इमिस तालिमले विद्यालयका सम्पूर्ण अभिलेख राख्न सफ्टवेयरमार्फत् सुरक्षित गर्नका लागि दिइएको बताएका छन् ।
उनका अनुसार विभिन्न कागजात र अभिलेखिकरण राख्नका लागि पहिले फाइल बनाएर राख्दा हराउने र च्यातिने हुने भएको हुँदा सुरक्षितसँग अब सफ्टवेयरबाट अपडेट गर्न सजिलो भएको हुँदा त्यो समस्याबाट मुक्त भएको हो ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ, उपाध्यक्ष रिमझिमकुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले तालिम अवधिभर अनुगमन र अवलोकन गरी विद्यालयका अभिलेख सुरक्षित साथ अपडेट हुने प्रणाली लागू भएको हुँदा समय–समयमा सबै अभिलेख सफ्टवेयरबाट काम गर्न अनुरोध गरेका थिए ।
शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरका अजितकुमार मल्लिकले एक सय २० जनालाई प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।
चारै चरणमा प्रधानाध्यापक र शिक्षकहरुलाई ल्यापटपबाट प्रयोगात्मक तरिकाबाट सिकाइलाई प्रभावकारी बनाउन सहजीकरण गरेको उनले बताए ।
मल्लिकले अभिलेख राख्न फाइल झन्झट हुने भएको र कागजातहरु सुरक्षित नहुने भएकाले सफ्टवेयरबाट आआफ्ना विद्यालयका अभिलेख राख्न सजिलो हुने भएकाले इमिस तालिम प्रदान गरिएको बताए ।
शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरका गणेशप्रसाद गौतमले तालिम अवधिभर सहयोग गरेकोसमेत उनले बताए ।