पवन रौनियार
लौकही। लामो समय अघिदेखि सुनसरीको कोसी क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तीलाई अन्ततः नियन्त्रण गरी बाँधेर राख्ने सुझाव हात्तीसम्बन्धी विज्ञता प्राप्त गरेको टोलीले दिएको छ ।
सुनसरीको कोसी गाउँपालिकाको मध्यवर्ती क्षेत्रमा हात्तीकै कारण झण्डै दुई दर्जन स्थानीयको ज्यान गइसकेपछि तम्सिएको सुनसरी प्रशासन र अन्य सरकोरवालाहरुको गुहारमा आइपुगेको हात्तीसम्बन्धी विज्ञ टोलीले मकुनालाई नियन्त्रणमा राख्नुपर्ने सुझाव दिएपछि आरक्ष प्रशासन पनि त्यसतर्फ सहमत भएको बताइन्छ ।
बुधबार कोसीटप्पु आइपुगेको विशेषज्ञ टोली केही दिन यसै क्षेत्रमा बस्ने र मकुना हात्तीको व्यवस्थापनमा लाग्ने सो क्षेत्रको गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले बताए ।
उनले टोली आइसकेपछि अब मकुना नियन्त्रित भई आफ्नो गाउँपालिका क्षेत्रका जनता पूर्णरुपमा हात्ती आतंकबाट सुरक्षित रहने विश्वाससमेत व्यक्त गरे ।
बितेका दिनहरुमा कोसीटप्पु क्षेत्रमा अन्यत्रबाट आउने हात्तीको आतंकबाट झण्डै दुई दर्जन कोसीका नागरिकको मृत्युु भइसकेपछि आतंकित बनेका कोसीका सर्वसाधारण अहिले थप चिन्तित बनेका छन् ।
यो महिनामै दुई जनाको मृत्यु भइसकेपछि आतंकित बनेका कोसीवासीहरु मंगलबार हात्ती आतंको विरोधमा कडा रुपमा उत्रिएपछि सरकारले यसतर्फ गम्भीरतापूर्वक चासो लिएको बताइन्छ ।
हात्ती विज्ञ अशोक राम नेतृत्वको टोली, सुनसरी प्रशासन, स्थानीय सरकार, आरक्ष प्रशासनको सल्लाह र सुझावबाट मकुनालाई जंगलमा बाँधेर राख्ने निर्णय गरिएको हो ।