लौकही । सुनसरीको कोशी गाउँपालीकामा अपांगता भएका व्यक्तिहरुको लागि संचालित अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ । गाउँपालीकामा बिहीबारबाट सुरु भएको शिविरमा अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको मर्म अनुसार सेवा प्रवाह गरेको हो ।
कोशी गाउँपालीकाको आयोजना तथा समाजिक विकास मन्त्रालय प्रदेश १ र करुणा फाउन्डेसनको साझेदारीमा सुरु भएको शिविरको पहिलो दिन कोशी गाउँपालीका वडा नम्बर १ र २ का अपांगता भएकालाई सेवा दिएको छ । यहाँका दुई वडाका ९० जना अपांगता भएका व्यक्तिलाई सेवा दिएका छन् ।
शिविरका फोकल पर्सन राजकिशोर मेहताका अनुसार लौकही स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य परिक्षण शिविरमा जेनेरल फिजिशियनबाट स्वास्थ्य परिक्षण, अँखा तथा कान विशेषज्ञबाट सेवा प्रदान गरिएको छ ।
शिविरमा अर्थोपेडिक सर्जन संतोष नेपाल,नेत्र विशेषज्ञ आकाश देव र ओडियोलोजिष्ट रमेशकुमार चौधरी तथा करुणा फाउन्डेसनबाट आएका विशेषज्ञहरूले उनीहरूलाई सेवा दिएका थिए ।
स्वास्थ्य परिक्षण शिविरबाट सहायक सामाग्रीका जस्तै ह्विल चियर, श्रवणयंत्र,कृत्रिम खुट्टा,कृत्रिम हात,वैशाखी र एल्स्टिकको लागि २५ जना छनोट भएका छन् भने फेजिओथरोयापी सेवाको लागि ३० जना र थप उपचारका लागि १८ जना छनोट भएको फोकल पर्सन मेहताले जानकारी दिनुभयो ।
उनीहरूलाई चिकित्सकको सल्लाहअनुसार सामाग्री हस्तान्तरण गरिनेछ । केही समयपहिले गरिएको सर्वेक्षणका क्रममा कोशी गाउँपालीकाको ८ वडामा ६८६ जना अपांगता भएका व्यक्ति पाइएकोमा उनीहरूको अवस्था बुझ्दै थप आवश्यक उपचार गर्ने उद्देश्यले शिविर संचालन गरिएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो ।
ति बाहेक पहिचान हुन बाकी रहेका अपांगता भएका व्यक्तिको पहिचान गर्दै कार्डसमेत वितरण गरिने फोकल पर्सन मेहताको भनाइ छ ।