इनरुवा । इनरुवा नगरपालिकाको १० वटै वडासहित जिल्लाभर नै नेपाली कांग्रेसले वडास्तरमा विरोध प्रदर्शन गरेको छ । इनरुवा नगरपालिकाका १० वटै वडाका वडा समितिहरुले आआफ्नो अगुवाइमा विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शन गर्ने क्रममा इनरुवा–३ महेन्द्रचोकमा कांग्रेस कार्यकर्ताहरुले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध मुखमा कालोपट्टी बाँधेर ४५ मिनेट सडकमा उभिएर सांकेतिक विरोध गरेको इनरुवा–३ का वडा सभापति सुनोज निरौलालले बताए ।
अरु नौवटा वडाहरुमा र्याली सहित विरोध प्रदर्शनसमेत गरेका छन् । उता इनरुवा–९ बबियामा नेपाली कांग्रेस सुनसरीको उपसभापति सञ्जय श्रेष्ठसहितको उपस्थितिमा विरोध कार्यक्रम सम्पन्न गरिएको वडासभापति कृष्णदेव मेहताले बताए ।
इनरुवा नगरपालिका वडा नम्बर १ का वडा संयोजकहरु प्रदीप ढकाल, २ मा रमेश कटुवाल, ३ मा रोशनकुमार खड्का, ४ मा धीरज भट्टराई, ५ मा तुलसीराज दुलाल, ६ मा उत्तम कार्की, ७ मा सुरेन्द्र साह, ८ मा वहाव अन्सारी, ९ मा बौवालाल मेहता र १० मा संयम कोइरालाको नेतृत्वमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी हरिनगर, देवानगञ्ज, बर्जु, गढी, दुहवी, कोशी, इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, भोक्राहा नरसिंहसहित १२ वटै स्थानीय तहको १२४ वटै वडामा एकसाथ विरोध प्रदर्शन गरिएको हाम्रा सहकर्मीहरुले जनाएका छन् । १२ वटै स्थानीय तहको १ सय २४ वटै वडाका सभापतिहरुको अध्यक्षतमा विरोधसभा सम्पन्न भएको हो ।
उता संसद विघटनको विरोधमा कांग्रेसले देशभर रहेका ६ हजार ७ सय ४३ वडाहरुमा एकसाथ प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसले यस अघि १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनका कार्यक्रम सम्पन्न गरिसकेको छ ।