लौकही। इलाका प्रहरी कार्यालय लौकहीले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका ७१ थान ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ ।
शनिबार राति अन्दाजी १२ बजेको समयमा इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायव निरीक्षक हरिकुमार कार्कीको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले कोसी गाउँपालिका–४ नहर चोकमा भारतबाट अवैध रुपमा नेपालतर्फ साइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ७१ वटा ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।
स्थानीय नागरिक समुदाय, सझेदारी प्रहरी कार्यक्रमका कोसी अध्यक्ष रामनारायण पौदार, कोसी गापा–१ का वडाध्यक्ष राजकुमार साह, कोसी युवा सन्जाल, पत्रकार लगायतको रहोबरमा बरामद गरेको ७१ वटा भारतीय कुखुरालाई खाल्डोमा पुरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।
अवैध रुपमा कुखुराहरु नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिहरु प्रहरी देखेपछि कुखुरा छाडेर भागेको प्रहरीले जनाएको छ ।