टोमराज मेहता
इनरुवा। सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का निवर्तमान सांसद् एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो क्षेत्रका जनतासँग भेटघाटलाई निरन्तरता दिन थालेपछि त्यस क्षेत्रका जनता खुसी हुँदै धमाधम कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।
जनताको घरदैलोमा गएर प्रत्यक्ष भेटघाटलाई तिब्रता दिएपछि जनताले नेता कार्कीको प्रशंसा गर्दै विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको क्रेज अहिले सो क्षेत्रमा बढ्न थालेको जानकारहरु बताउँछन् ।
कार्कीले कसैलाई पनि काखापाखा नगर्ने, भेदभाव नगर्ने, समस्या वा गुनासो सुन्ने, प्रत्यक्ष भेटघाट गर्न थालेपछि सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका जनता विभिन्न पार्टी परित्याग गरी सोमवार फेरि एक सय २१ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
जनताले चाहेको जस्तो नेता पाएपछि कार्कीको स्वभावले गर्दा अत्यन्त खुसी हुँदै क्षेत्र नम्बर–४ का जनता नेपाली कांग्रेसलाई बलियो बनाउन र नेता कार्कीलाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गएको बताइन्छ ।
पुस ५ गते संसद् विघटनपछि नेता कार्की निरन्तर आफ्नो क्षेत्रका जनतासँग घुलमिल भएपछि अहिले फेरि चर्चामा आएपछि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढिरहेको नेपाली कांग्रेस इनरुवा–३ का वडा सभापति सुनोज निरौलाले बताएका छन् ।
संसद् विघटनपश्चात् नेकपा दुई खेमा विभाजन भएपछि जनता अन्योलमा परेको हुँदा जनताको रोजाइ नेपाली कांग्रेस बन्न थालेपछि अरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लहर बढिरहेको वडासभापति निरौलाले बताए । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु पनि जोश–जाँगरका साथ आआफ्नो क्षेत्रमा संगठन बलियो बनाउनका निम्ति खटिरहेकाले कांग्रेसमा प्रवेशको लहर बढेको उनले बताए ।
नेता कार्की आफ्नो क्षेत्रमा लगातार आउन थालेपछि वडा, गाउँ, टोल, नगरका नेता तथा कार्यकर्ताहरु थप उर्जा प्रदान भएको छ । कार्यकर्तासँगै नेता कार्कीलाई पनि थप उत्साह, उमङ्गका साथ जनताको घरदैलो अभियानमा जुटेका छन् । जनताले चाहेको विकास नेता कार्कीले आफ्नो क्षेत्रमा धेरै उपलब्धि वा नतिजामुखी काम गरेपछि जनता हर्षित भएकाले अरु पार्टी परित्याग गरी नेता कार्कीको हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धतासहित कांग्रेस प्रवेश गर्नेहरुको लहर बढ्दै गएको नागरिक अगुवाहरुको भनाइ छ ।
नेपाली कांग्रेस भोक्राहा नरसिंह–१ मा सोमबार एक सय २१ जना एकसाथ नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीले नेपाली कांग्रेसले सबैलाई अटाउने र अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसजस्तो पार्टीमा प्रवेश गरेका जनतालाई सम्मान गर्ने र उनीहरुलाई काम गर्ने वातावरण सिर्जना गरि संगठनप्रति बफादार बनाउन भूमिका खेल्ने कार्कीको भनाइ छ । पूर्व अर्थमन्त्री कार्कीसहितका नेताहरुले नवप्रवेशीहरुलाई अविरको टिका लगाई स्वागत सम्मान गरेका छन् ।
नेपाली कांग्रेस भोक्राहा नरसिंह–१ का वडा सभापति बेचन मेहताको अध्यक्षता प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि ज्ञानेन्द्रबहादुर कार्की, रविना राणा कार्की, पूर्व राज्यमन्त्री सीताराम मेहता, नेपाली कांग्रेस सुनसरीका उपसभापति हरिलाल मेहता, सचिव केदार भण्डारी, मुस्लिम संघ १ नम्बर प्रदेशका अध्यक्ष हाजी इसराइल मन्सुरी, क्षेत्र नम्बर–४ का सहसभापति सदानन्द मण्डल, नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, नेता सुकदेव मेहता लगायतकाले नवप्रवेशीहरुलाई टिका लगाएर स्वागत सम्मान गरेका थिए ।