इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा स्थापित जिल्ला अस्पताल इनरुवामा राज्यले दिएको दरबन्दीअनुसार चिकित्सकको माग जनताले गरेका छन् ।
सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालमा ११ जना चिकित्सकको दरबन्दी भए पनि दुई जना मात्रै डाक्टर रहेको भन्दै स्थानीयले दरबन्दीअनुसारको चिकित्सकको व्यवस्था मिलाउन माग गरेका हुन् ।
चिकित्सक अभावका कारण इनरुवा अस्पतालले नागरिकलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकेको भन्दै दरबन्दीअनुसारको डाक्टरको व्यवस्था मिलाउन शनिबार इनरुवामा आयोजित एक कार्यक्रमका सहभागीहरुले माग गरेका हुन् ।
इनरुवा अस्पताल सुधारका लागि इनरुवा अस्पताल सुधार संघर्ष समितिले शनिबार आयोजना गरेको बृहतअन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले ११ जना चिकित्सकसहित ५९ जनाको दरबन्दी भएको अस्पतालमा २८ जना मात्रै कर्मचारी रहेकाले दरबन्दीअनुसार चिकित्सकसहित कर्मचारीहरुको पदपूर्ति गर्न माग गरेको छ ।
इनरुवा अस्पतालले इनरुवा नगरपालिकाका साथै भोक्राहा नरसिंह, हरिनगर गाउँपालिका, देवानगंज गाउँपालिका कोसी गाउँपालिका, गढी गाउँपालिका लगायतका क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै आएको भए पनि विशेषज्ञ चिकित्सकको अभाव र अस्पतालमा देखिएको अव्यवस्थापनका कारण अहिले इनरुवा अस्पतालप्रति सेवाग्राहीको गुनासो बढ्दै गएको छ ।
इनरुवा अस्पतालमा दैनिक रुपमा बिरामीको चाप अत्यधिक हुने गरे पनि अस्पतालमा लामो समयदेखि चिकित्सक अभाव रहेकोले सेवाग्राहीले निकै सास्ती व्यहोर्नुपरेको सो कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले गुनासो गरेका छन् ।
अस्पताललाई सुधार गर्ने उद्देश्यले गठित अस्पताल सुधार संघर्ष समितिका संयोजक दीलिप साहले अस्पतालमा राजनीति हावी भएको कारण अस्पतालको प्रशासनदेखि आर्थिक तथा व्यवस्थापकीय क्षेत्र लथालिंग बनेको आरोप लगाए ।
इनरुवा अस्पतालमा दरबन्दी अनुसारको दक्ष चिकित्सक र जनशक्ति अभावलाई पूर्तिका गर्नका लागि अस्पताल व्यवस्थान समिति, प्रदेश सरकार र स्थानीय सरकार उदासिन बनेकाले जनताले स्वास्थ्य उपचारका लागि धरान–विराटनगर पुग्नुपर्ने बाध्यता रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै इनरुवा अस्पतालका पूर्व चिकित्सक बालकृष्ण साहले अस्पतालमा देखिएको समस्यालाई उचित व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । नागरिकको स्वास्थ्यजस्तो संवेदनशील विषयमा अस्पताल व्यवस्थापन समिति र स्थानीयबासीहरु गम्भीर बन्नुपर्नेमा जोड दिए ।
इनरुवा अस्पतालबाट नागरिकले कसरी चौबीसै घन्टा सहज, सुलभ, छिटो र गुणस्तरीय सेवा पाउँछन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।