इनरुवा । नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाईले सुनसरी बहुमुखी क्याम्पसका प्रमुखलाई बुधबार ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्यार्थी संघले दुई बुँदे मागसहित सुनसरी बहुमुखी क्याम्पसका प्रमुख इनु भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।
कोभिड १९ ले विद्यार्थीहरु पनि जोखिम रहेकाले सुनसरी बहुमुखी क्याम्पसले कसैसँग सरसल्लाह नगरी स्नातक तहको प्रथम वर्षको शुल्क मनोमानी ढङ्गले बढाएकोप्रति नेविसंघको ध्यानाकर्षण भएको छ । स्नातक तह प्रथम वर्षको भर्ना शुल्क बढाएको हुनाले क्याम्पस प्रशासनले यथाशीघ्र शुल्क कम गर्नुपर्ने र विद्यार्थीहरुसँग लिएको भर्ना शुल्क फिर्ता गरी मासिक शुल्कमा रुपान्तरण गर्नुपर्ने नेविसंघले माग गरेको छ ।
नेपाल विद्यार्थी संघ क्याम्पसका नेतृत्वकर्ता सेराज हुसैनद्वारा हस्ताक्षरित विज्ञप्तिमा मानविकी (बीए) संकाय भएता पनि भर्ना बन्द गरिएकाले विद्यार्थीलाई समस्या भएको उल्लेख गरिएको छ । सुनसरी बहुमुखी क्याम्पस इनरुवाले मानविकी संकायमा विद्यार्थीलाई भर्ना खोली कक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै क्याम्पस प्रमुख भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल विद्यार्थी संघले राखेको माग फागुन मसान्तभित्र पूरा नभए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको नेतृत्वकर्ता हुसैनले बताए ।