बराहक्षेत्र । बराहक्षेत्र १ र २ का एक दर्जन भन्दा बढी नेकपा एमाले र माओबादी केन्द्रका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा , केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की , डाक्टर डिल्ला संग्रौला , डाक्टर मिनेन्द्र रिजाल , मीन बिश्वकर्मा लगाएका नेताले अवीर लगाएर नेपाली कांग्रेसमा स्वागत गरेका थिए ।
नेपाल दलित संघले धरानमा आयोजना गरेको कार्यक्रममा मंगलवार नेकपा एमालेका नरबहादुर राई माओवादी केन्द्रका दिनेश घिमिरे, बिपिन मगर, रामप्रसाद पोखरेल , राजकुमार साहा, अनिल श्रेष्ठ , अमीत साह, योगेन्द्र गौतम लगाएतका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वराहक्षेत्र सभापति नारायण नेपालले बताए । नेपालका अनुसार नबप्रवेशीहरुलाई केन्द्रीय सभापति देउवाको हातबाट पार्टीको साधारण सदस्य समेत प्रदान गरिएको छ ।उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले दुःख दिएको भन्दै आक्रोश पनि पोखेका छन् । करिब दुई साता अगाडि वराहक्षेत्र नगरपालिका वडा नं १ वडाध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नेता सुरेश श्रेष्ठलाई प्रहरी गरेको ज्याजतीको सन्दर्भ निकाल्दै देउवाले कांग्रेस कार्यकर्ताहरुलाई कम्युनिष्ट पार्टीमा लाग्न प्रहरीले दबाब र धम्की दिएको भन्दै आक्रोश पोखेका हुन् । उनले आफ्ना कार्यकर्ताहरुलाई त्यसरी दुःख दिने प्रहरीलाई नछोड्ने चेतावनी समेत दिएका छन् । उनले प्रहरी प्रशासनसँग नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु नडराइकन निर्धककसँग काम गर्न अनुरोध गरेका छन् ।त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले दलित समुदायको भूमिका पनि नेपाली कांग्रेसमा अपरिहार्य रहेकोले आउँदो १४ औं महाधिवेशनमा उनीहरुलाई उचित स्थान दिने बताए । दलित समुदायलाई सम्मान गर्नुपर्ने समेत उनको भनाई थियो ।