टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय तथा संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस सबै जातजातिको साझा पार्टी रहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवामा नेपाल ठाकुर समाजको प्रथम जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कार्कीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सबै जातजातिलाई अवसर प्रदान गर्ने साझा पार्टीको रुपमा स्थापित गर्न लागि परेको बताए । नेपाल ठाकुर समाज जिल्ला कार्यसमिति सुनसरीको प्रथम जिल्ला अधिवेशनमा सांसद कार्कीले ठाकुर समुदायलाई पनि नेतृत्व गर्न अवसर प्रदान गर्न बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कार्कीले मेचीदेखि महाकालीसम्मका ठाकुर समुदाय लगायतका विभिन्न जातजातको संगठनलाई समान अवसर प्रदान गरी नेपाली कांग्रेसलाई लोकतान्त्रिक पार्टी बनाउन १४ औं महाधिवेशनले थप मद्दत पुग्ने बताए ।
तराई, पहाड, हिमाल र मधेसमा नेपाली कांग्रेसलाई लोकप्रिय र शक्तिशाली बनाउन आवश्यक रहेको कार्कीले बताए । ‘नेपाली कांग्रेसलाई लोकप्रिय र शक्तिशाली बनाउने अभियानमा हामी छौं,’ उनले भने, ‘अभियानमा हामीले कांग्रेसलाई भाषणबाट होइन्, व्यवहारबाट बलियो र लोकप्रिय बनाउने दिशामा लाग्नुपर्दछ ।’
‘ठाकुर समाजले नेपालको रुपान्तरणमा धेरै सहयोग पु¥याएको छ,’ उनले भने, ‘ठाकुर समाजलाई आउँदो महाधिवेशनमा उचित स्थानमा पुर्याउने छु । ठाकुर समाजका अगुवाहरुले गरेको योगदानलाई उच्च कदर गर्दै निर्वाचनमा उम्मेदवार बनाई विजयी गराउने जिम्मेवारी नेपाली कांग्रेसको हो ।’
‘नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो,’ उनले भने, ‘संविधानले सबै जातजाति, भाषको संरक्षण र अधिकार दिएको छ । मधेसी, जनजाति, अल्पसंख्यकहरुको भावना समेट्न बाँकी रहेकाले नेपाली कांग्रेसले भूमिका खेल्न तयार रहेको छ ।’ सबैको भावनालाई समेट्दै संविधानर लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको कार्कीको भनाइ छ । सबै समुदायलाई एकीकृत गरेर लैजानुपर्ने आजकोे आवश्यकता रहेको उनले बताए । आउँदो निर्वाचनमा नेपाली कांग्रेसले विजयी भएर सेवा सुविधा उपलब्ध गराउने र देशको समृद्धिको बाटोमा अग्रसर हुनुपर्ने उनले बताए । नेपाली कांग्रेसलाई सार्थक र जनताको पार्टी बनाउन आवश्यक रहेको कार्कीले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि डाक्टर डिला संग्रौलाले समाजमा ठाकुर समुदायले पुर्याएको योगदानलाई कदर गर्नुपर्ने बताइन् । ठाकुर समुदायको पहिचानलाई कायम गर्न देशभरका ठाकुर समाज एकीकृत हुन आवश्यक रहेको बताउँदै संग्रौलाले ठाकुर समुदायलाई १४ औं महाधिवेशनमा अवसर प्रदान गरी केन्द्रदेखि वडासम्म नेतृत्व प्रदान गर्नुपर्ने बताइन् । ठाकुर समाजका व्यक्तिहरु इमान्दार, बफादार र कर्मका धनी भएकाले ठाकुर समाजलाई अवसर र पहिचान बनाउन नेपाली कांग्रेस लागिपरेको संग्रौलाले बताइन् । समाज रुपान्तरण हुन आवश्यक रहेको बताउँदै उनले नेपाली कांग्रेसले ठाकुुर समुदायलाई अवसर र नेतृृत्व प्रदान गर्नुपर्ने र महिलाहरुलाई मूलधारमा ल्याउन सकिए नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताइन् ।
नेपाल ठाकुर समाजका केन्द्रीय अध्यक्ष अनिरुद्रप्रसाद ठाकुरले विभिन्न समुदायमा ठाकुर जातले जन्मदेखि मृत्युसम्म शुद्धिकरण गर्ने कार्य गरेकाले ठाकुर जातको धेरै नै महत्वपूर्ण भूमिका रहेको बताए । ठाकुर समाज नेपाली कांग्रेसको पिलर भएकाले नेपाली कांग्रेसले वितरण गर्न लागेको नयाँ क्रियाशील सदस्य ठाकुर समुदायका व्यक्तिहरुलाई फारम दिनका लागि अनुरोधसमेत उनले गरे । नेपाली कांग्रेसलाई शक्तिशाली बनाउन ठाकुर समुदायको भूमिका अपरिहार्य रहेकोले अवसर, पहिचान र नेतृत्वको आवश्यकता रहेको उनले औंल्याए ।
ठाकुर समुदायमा योगदान पुर्याएको भन्दै नेपाल ठाकुर समाज सुनसरीले आधा दर्जन भन्दा बढीलाई दोसला ओढाएर र सम्मान पत्र दिएर सम्मान गरेको छ । कार्यक्रम राजकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघीय सांसद सीताराम मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला, सचिव केदार भण्डारी, इनरुवा नगरपालिकाका मेयर राजन मेहता ,जय प्रकाश ठाकुर लगायतको सहभागिता रहेको थियो ।