इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले इनारको प्रतीकले इनरुवाको इतिहास रचेको बताएका छन् । इनरुवाको मुख्य चोकमा बनाइएको इनारको प्रतीकले इनरुवामा ऐतिहासिक काम भएको मेयर मेहताले बताएका छन् ।
मंगलबार इनरुवामा इनारको प्रतीकको उद्घाटन गर्दै मेयर मेहताले इनारको प्रतीक बनेपछि इनरुवाले इतिहास रचेको र मुख्य आकर्षणको रुपमा रहेकोले इनरुवाबासीको लागि खुशीको खबर भएको बताए ।
इनारको प्रतिकले सांस्कृतिक, धार्मिक, रितिरिवाज र परम्परालाई समेत जर्गेना गरेको र आउने नयाँ पुस्ताको लागि समेत इतिहासको रुपमा साक्षी रहेकाले यसलाई संरक्षण र सम्बद्र्धन गर्न आवश्यक रहेको बताए । इनरुवाको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा इनारको प्रतीकले चिनाउने उनले विश्वास व्यक्त गरेका छन् ।
इनरुवा नगरपालिका वार्ड नं. १ को लोकतान्त्रिक चौकमा इनरुवाको पहिचान झल्किने इनारको प्रतीक निर्माण गरी मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।मेयर मेहताले इनारको उद्घाटन गर्दै विकास र समृद्धिका लागि आफूले काम गर्दै आएको र त्यसमध्येको एउटा काम इनरुवाको पहिचान इनारको प्रतीकसमेत भएको बताए ।
नगर प्रमुख मेहताले आफू जनताको विकासका लागि जहिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र गरिरह्ने प्रतिबद्धता जनाए । मेहताले पाँच दशकदेखि हुन नसकेको विकासको काम आफ्नो चार वर्षे कार्यकालमा भएको दाबीसमेत गरे ।मेहताले इनरुवाको प्रतीक इनार मात्र नभई घण्टाघर, शिव मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर लगायतका विभिन्न वडाका पहिचान झल्किने तस्बिरहरु समेत निर्माणको चरणमा रहेको बताए ।
पाँच दशक अघिसम्म खानेपानीका लागि स्थानीयहरुले निर्माण गरिएको इनार र कुवाले भरिएको अनि इनारै इनार भएको क्षेत्रको रुपमा इनरुवाको नामाकरणसमेत भएको ठहर गर्दै इनरुवाको पहिचान बोकेको इनार निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीताराम मेहता, नागरिक समाजका पुरुषोत्तम घिमिरे, इनरुवा नगरपालिका वार्ड नं। १ का वडाध्यक्ष रामचन्द्र पौदार , इनरुवा नापा ५ का वडाध्यक्ष अन्जनी पोखरेल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोह इनरुवाको प्रतीक निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिनन्द यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त इनारको प्रतीक निर्माण गर्न १५ लाख रुपैयाँ खर्च भएको उपभोक्ता समितिका अध्यक्ष यादवको भनाइ छ ।