इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले इनारको प्रतीकले इनरुवाको इतिहास रचेको बताएका छन् । इनरुवाको मुख्य चोकमा बनाइएको इनारको प्रतीकले इनरुवामा ऐतिहासिक काम भएको मेयर मेहताले बताएका छन् ।
मंगलबार इनरुवामा इनारको प्रतीकको उद्घाटन गर्दै मेयर मेहताले इनारको प्रतीक बनेपछि इनरुवाले इतिहास रचेको र मुख्य आकर्षणको रुपमा रहेकोले इनरुवाबासीको लागि खुशीको खबर भएको बताए ।
इनारको प्रतिकले सांस्कृतिक, धार्मिक, रितिरिवाज र परम्परालाई समेत जर्गेना गरेको र आउने नयाँ पुस्ताको लागि समेत इतिहासको रुपमा साक्षी रहेकाले यसलाई संरक्षण र सम्बद्र्धन गर्न आवश्यक रहेको बताए । इनरुवाको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा इनारको प्रतीकले चिनाउने उनले विश्वास व्यक्त गरेका छन् ।
इनरुवा नगरपालिका वार्ड नं. १ को लोकतान्त्रिक चौकमा इनरुवाको पहिचान झल्किने इनारको प्रतीक निर्माण गरी मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
मेयर मेहताले इनारको उद्घाटन गर्दै विकास र समृद्धिका लागि आफूले काम गर्दै आएको र त्यसमध्येको एउटा काम इनरुवाको पहिचान इनारको प्रतीकसमेत भएको बताए ।
नगर प्रमुख मेहताले आफू जनताको विकासका लागि जहिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र गरिरह्ने प्रतिबद्धता जनाए । मेहताले पाँच दशकदेखि हुन नसकेको विकासको काम आफ्नो चार वर्षे कार्यकालमा भएको दाबीसमेत गरे ।
मेहताले इनरुवाको प्रतीक इनार मात्र नभई घण्टाघर, शिव मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर लगायतका विभिन्न वडाका पहिचान झल्किने तस्बिरहरु समेत निर्माणको चरणमा रहेको बताए ।
पाँच दशक अघिसम्म खानेपानीका लागि स्थानीयहरुले निर्माण गरिएको इनार र कुवाले भरिएको अनि इनारै इनार भएको क्षेत्रको रुपमा इनरुवाको नामाकरणसमेत भएको ठहर गर्दै इनरुवाको पहिचान बोकेको इनार निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीताराम मेहता, नागरिक समाजका पुरुषोत्तम घिमिरे, इनरुवा नगरपालिका वार्ड नं। १ का वडाध्यक्ष रामचन्द्र पौदार , इनरुवा नापा ५ का वडाध्यक्ष अन्जनी पोखरेल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोह इनरुवाको प्रतीक निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिनन्द यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त इनारको प्रतीक निर्माण गर्न १५ लाख रुपैयाँ खर्च भएको उपभोक्ता समितिका अध्यक्ष यादवको भनाइ छ ।












