इटहरी । ०७५ साउन ९ मा इटहरी १० स्थित थारु टोलमा रातको साढे १० बजे स्थानीय ३२ वर्षीय कृष्ण ढकालमाथि कुटपिट भयो ।
सोही ठाउँ बस्ने ३५ वर्षीय सुभाष चौधरी, २५ वर्षीय विजय भनिने मदन थापा, र ३४ वर्षीय प्रकाश ढकालले कृष्णमाथि निर्घात कुटपिट गर्दा उनको मृत्यु भयो । कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको उपचारको क्रममा मृत्यु भएपछि उनीहरु फरार रहेका थिए । फरार रहेकामध्ये दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
इटहरी प्रहरीका प्रमुख डीएसपी अर्जुन केसीका अनुसार फरार प्रतिबादीहरु मध्ये सुभास चौधरी र मदन थापा भारतको नयाँ दिल्लीमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा इटहरी प्रहरीले अनुसन्धान अगाडि बढायो ।
आफूहरुले भारतीय प्रहरीसँग समन्वय गरी पक्राउ गरेको केसीले बताए । उनका अनुसार फरार प्रतिबादीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पक्राउ गरेका दुईजनाले घटनामा आँफू संलग्न रहेको स्वीकार समेत गरिसेको प्रहरीले जनाएको छ ।
‘यहाँबाट भारतीय प्रहरीसमक्ष उनीहरुको फोटो पठाएर अनुसन्धान अगाडि बढाएका थियौँ,’ डीएसपी केसीले भने, ‘उनीहरु आफ्नै गाउँ आएको भन्ने त्यहाँबाट सूचना प्राप्त भएपछि हामीले प्रहरी परिचालन गरेका थियौँ ।’
उनका अनुसार गाउँ फर्किएर आएको सूचना पाएपछि प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गरेको हो । चैत्र १५ गते पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डीएसपी केसीले जनाकारी दिए ।
उनले भने, ‘उनीहरुले प्रहरीसमक्ष हत्या गरेको स्वीकार समेत गरिसकेको अवस्था छ, थप अनुसन्धानकै क्रममा छौँ ।’
अर्का फरार प्रकाश ढकाल भने अहिलेपनि फरार रहेकाले प्रहरीले निगरानी बढाएको उनले बताए । धरान ८ बस्ने ४७ वर्षीया दिव्या कार्कीको जाहेरी अनुसार आफूहरुले दुई फरार प्रतिबादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।