इनरुवा । सुनसरीको थारु बाहुल्यता पालिकाहरुमा रहेका ग्रामथान पछिल्लो समय विभिन्न व्यक्तिहरुको अतिक्रमणका कारणले थारुहरुको पहिचान संग जोडिएको संस्कृतिको धरोहर नै नासिने हुँदा संरक्षणका लागि पहल गरी दिन आग्रह गरेका छन् ।
ग्रामथान संरक्षण समिति सुनसरीले शनिवार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा थारुहरुको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान, पानीघट्टा, गौचरण तथा पोखरीहरु स्थानीय व्यक्ति तथा भूमाफियाले गर्दा संकटमा पारी रहेको हुँदा सरकारको ध्यानाकर्षण गर्न आग्रह गरेका हुन ।
आदिम काल देखि नै थारुहरुको आस्थाका धरोहर रहेको तथा जन्म देखि मृत्यु संस्कार सम्मका लागि धार्मिक स्थल ग्रामथानहरु पछिल्लो समयमा नेपाल सरकारले नै विभिन्न नियम कानून बनाएर बाटो घाटो सरकारी भवन, विद्यालय बनाउने नाउँमा अतिक्रमण बढेकाले संकटमा परेको ग्रामथान संरक्षण समितिका अध्यक्ष तेज नारायण चौधरीले बताउनु भयो ।
वहाँका अनुसार पछिल्लो समय विभिन्न व्यक्तिहरुले ग्रामथान नजिकै पाँच दश धुर जग्गा लिने र थानको जग्गा अतिक्रमण गरी आफ्नो जग्गामा समाहित गराई रहेको अवस्था छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा संस्कृति स्थलहरुको संरक्षण गर्ने भनी प्रष्ट व्यवस्था भए पछि स्थानीय तहका जनप्रतिनिधिहरुले ग्रामथान संरक्षणका लागि कुनै पहल कदमी उठाएको देखिदैन ।
रामधुनी ८ अर्ता स्थित रहेको ग्रामथान नजिक पछिल्लो समयमा विभिन्न व्यक्तिहरुले वरिपरि घडेरी जग्गा खरिद गरि बसोबास गर्दा थानको जग्गा समेत अतिक्रमणमा परेको स्थानीय पुजारी बद्री नारायण चौधरीले बताउनु भयो । वहाँका अनुसार ग्रामथानको एक कठा बढी जग्गाहरु स्थानीय संधियारहरुले आफ्नो जग्गामा समावेश गरी भोगी रहेका छन् ।
त्यसैगरी रामधुनी ४ विच्छुधामी ग्रामथान नजिक स्थानीय व्यक्तिले जग्गा खरिद गरी उल्टै घर टहरा हटाउनु भन्दै अदालतमा मुद्दा समेत दिएर थारुहरुको पहिचान नै नासिने गरी ग्रामथानमा आक्रमण गरेको स्थानीय पुजारी श्रवण चौधरीले गुनासो गरेका छन् ।
त्यसैगरी इटहरीको गोरखा डिपार्टमेन्ट अगाडी पूर्व पट्टी मुख्य सडक संग जोडिएको ग्रामथान, कचना माहादेव ग्रामथान, जब्दीग्राम थान जितनधामी लगायतका ग्रामथानहरु संकटमा परेको अवस्था छ ।
थारु समुदायले चैत्रमा बहरजत्रा शुभ साइत संसारी पुजा गरी नयाँ वर्ष बैशाख १ गते सिरुवा वर्ष गर्नका लागि पनि स्थानीय ग्रामथानमा गई पुजाआजा गरी आशिर्वाद लिने गर्छन भने ग्रामथानमा विशेष गरी अखाडी पुजा, नेमानी पुजा लगायत शुभ कार्य गर्दा समेत ग्रामथानमा गई पुजा अर्चाना गरी आसिस लिने परम्परा रहेको छ ।
सुनसरीको थारु बसोबास रहेको ठाउँमा करिब ३ सयको हराहारीमा रहेको ग्रामथान ५ सय भन्दा बढी रहेको पोखरी र कुपा, पानीघटाहरु संकटमा परेको थारु महिला सभाका केन्द्रिय सचिव सुशिला चौधरी तथा ग्रामथान संरक्षण समितिका सचिव सावित्रा चौधरी लगायतले ग्रामथान संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइ दिन आग्रह गरेको हो