विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित मृतक महिलाका श्रीमानको भने उपचार हुँदै छ ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको बिहीबार बिहान ४ः३० बजेतिर मृत्यु भएको हो ।
अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला उपचारका लागि नोबेल अस्पताल पुगेकी थिइन् । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई थप उपचारका लागि नोबेलले बुधबार दिउँसो कोसी कोभिड अस्पताल रेफर गरेको हो ।
भगतका अनुसार गम्भीर अवस्थामा बुधबार दिउँसो ४ बजेतिर महिलालाई अस्पतालमा भर्ना गरेर उपचार थालिए पनि बचाउन सकिएन । उनले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए । मृतक महिलाका श्रीमान पनि कोरोना संक्रमित हुन् । परीक्षण रिपोर्ट पोजिटिभ आएका उनको पनि अहिले कोसी कोभिड–१९ उपचार केन्द्रमै उपचार जारी रहेको भगतले बताए ।