इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले भोलीबाट निषेधाज्ञा जारी गरेको छ । दोश्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले बैशाख १७ गते राती १२ बजेदेखी बैशाख २४ गते राती १२ बजे सम्मका लागि पहिलो चरणमा निषेधाज्ञा जारी गरिएको हो ।
कोरोनोको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि बिहिवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा एकसाताको लागि लागू गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचनामा उल्लेख गरिएको हो । सुनसरीमा एकसाता निषेधाज्ञा गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले १३ बुँदे निर्णय गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको बैठकले भोलीदेखी निषेधाज्ञा जारी गर्ने र अत्यावश्यक काम बाहेक आवतजावत नगर्न सबैलाई अनुरोध गरेको छ । निषेधाज्ञालाई सफल बनाउन सबै आआफनो ठाउँबाट सहयोग गर्न सुनसरी प्रशासनले अनुरोध समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले लकडाउन गर्नका लागि निषेधाज्ञालाई अटेर नगरी सबैले पालना गरी पहिलो चरणको कार्यक्रमलाई सफल बनाउन सबैको दायित्व भएकोले सबैले पालना गर्नुपर्ने प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
निषेधाज्ञा जारी भएपछि सर्वसाधारणहरुले अत्यावश्यक काम बाहेक हिडडुल गर्न नपाउने र सवारी साधन चलाउन प्रतिवन्ध लगाइएको प्रजिअ ढकालले बताए । निषेधाज्ञा उल्लघंन गर्ने जोसुकैलाई संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी ढकालद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसीको बैठकले बैशाख १७ गतेदेखी बैशाख २४ गते राती १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर तीब्र गतिले बढेपछि यसको नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरिएको सुनसरी प्रशासन कार्यालयले जनाएको छ ।
सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी , भोक्राहा नर्सिङ, हरिनगर, देवानगञ्ज , बर्जु र गढी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।