इनरुवा । कोभिड–१९ को दोश्रो भेरियन्टले छिमेकी मुलुकसँगै हाम्रो देशपनि आक्रान्त भइरहेको र पछिल्लो एक सातायता मुलुकमा कोरोना संक्रमणको बृद्धिदर बढ्दै गएको बेला सुनसरीको स्थानीय तहहरुले तयार गरेका आइसोलेशन सेन्टरहरुमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा डीसीसीएमसीका अध्यक्ष उमेश कुमार ढकालको अध्यक्षतामा बुधवार बसेको बैठकले स्थानीय तहहरुमा तयार भएका आइसोलेसन सेन्टरमा नेपाल सरकारको मन्त्रि परिषदको बैशाख १६ गते बसेको बैठकले नेपाली सेनाले सुरक्षा प्रदान गर्ने निर्णय गरेको थियो ।
सो निर्णयलाई सुनसरीको डीसीसीएमसीको बैठकले कार्यान्वयन गर्नका लागि सेन्टरहरुमा नेपाली सेनाले सुरक्षा प्रदान गर्नका लागि खटाउने निर्णय गरेको हो । स्थानीय तहहरुमा आइसोलेसन सेन्टरहरुमा समन्वयकोे व्यवस्था नेपाल प्रहरीले गर्ने भएको छ ।
डीसीसीएमसीको बैठकले संक्रमण भई होम आइसोलेसन वा अस्पतालमा रहेका संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङलाई घनिभूत रुपले नियमित गर्ने र सोको व्यवस्था स्थानीय तहले गर्ने निर्णय गरेको छ ।
त्यसैगरी रामधुनी नगरपालिकामा आइसोलेसन सेन्टर सञ्चालन गर्न कृषि तालिम केन्द्र झुम्काको भवन उपलब्ध गराउनका लागि अनुरोध गर्ने र जिल्ला बाहिर (काठमाण्डौं लगायत अन्य जिल्ला वा लुकीछिपी भारत) बाट समेत आएका व्यक्तिहरुलाई स्थानीय स्तरमा निगरानी राखी क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जारी सूचनामा उल्लख गरिएको छ ।