इनरुवा । बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण तथा जनतालाई सहज होस् भन्दै नेपाली कांग्रेस सुनसरीले पार्टी कार्यालय प्राङ्गणमा रहेको क्षेत्रलाई आइसोलेशन केन्द्रका रुपमा प्रयोग गर्न दिने भएको छ भने इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले चढ्ने सरकारी गाडी कोरोना संक्रमितलाई अस्पताल लान लैजान प्रयोग गर्न दिने घोषणा गरेका छन् ।
इनरुवा नगरपालिका वडा नम्बर–२ बिहिवारे मुस्लिम टोल नजिक रहेको सुविधा सम्पन्न नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय भित्र रहेका संरचनाहरु कोरोना संक्रमितलाई उपचारका निम्ति आइसोलेशन केन्द्रका लागि उपलब्ध गराउने नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले बताएका छन् । उनले आवश्यकता अनुुसार पार्टी कार्यालय कोरोना संक्रमितका लागि दिइने बताए ।
यता इनरुवा नगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढ्न थालेपछि ऐम्बुलेन्सको कमीलाई ध्यानमा राखी नगर प्रमुख राजन मेहताले आफूले प्रयोग गर्ने स्कार्पियो नगरबासी संक्रमितलाई अस्पताल लान लैजान उपलब्ध गराएको घोषणा गरेका छन् । उनको यस निर्णयको नगरबासीहरुले स्वागत गरेका छन् ।
नगर प्रमुख मेहताले चढ्ने को १ झ ५१८ नम्बरको सरकारी गाडी इनरुवा नगर क्षेत्रका कोरोना संक्रमितले जुनसुकै समयमा प्रयोग गर्नका लागि मेयरलाई सम्पर्क गरे आफुले तुरुन्तै उपलब्ध गराउने मेहताले बताए । मेयर मेहताले निःशुल्क गाडी उपलब्ध गराउने र गाडी कसैलाई ब्यवस्था नभए आफुलाई सम्पर्क गरे भनेको ठाउमा पुर्याउने उनले बताए ।
कोभिड–१९ को दोश्रो लहर आएपछी इनरुवा नगर क्षेत्रमा पनि दिनहुुँ संक्रमणको संख्या बढदै गएपछी इनरुवाका मेयर मेहताले आफ्नो चढने सरकारी गाडी संक्रमितहरुलाई इनरुवा बाहिर लैजानका लागि प्रयोग गर्न दिने भएका छन । समयमै उपचार गर्नका लागि र गाडी नपाएका कारण मृत्यु हुनबाट जोगिनका लागि मेयर मेहताले गाडी दिएर सहयोग गर्ने भएका छन् ।