इनरुवा । इनरुवामा सक्रिय एक समाजिक समुहले बेवारिसे अवस्थामा फेला पारेको एक बांगलादेशी बृद्ध नागरिकले अन्ततः गनतब्यमा पुग्ने मार्ग पाएकी छिन् ।
इनरुवामा लामो समयअघि देखी किशोर किशोरी क्षेत्रमा अधिकार सम्वन्धी काम गर्दै आएकी इनरुवाकी अल्बिना प्रविण नेतृत्वको समुहले पाँच दिन अघि इनरुवा–३ बाट बेवारिसे अवस्थामा बृद्धालाई फेला पारी आवश्यक उद्धारका लागि इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेललाई जिम्मा दिएपछि हाल इनरुवा अस्पतालको सेफ हाउसमा रहेकी ती बृद्धा बांगलादेशी नागरिक रहेको प्रारम्भिक छानविनको क्रममा फेला परेपछि उनको उद्धारको निम्ति नेपाल स्थित बांगलादेशी राजदुतावासलाई गुहारिएको हो ।
उपप्रमुख पोखरेलको पहलमा बांगलादेशी राजदुतावासबाट आएको टोलीले ती बृद्धाको वास्तविक पहिचान गरेपछि उनको स्वदेश फिर्तीको सम्भावना बढेको हो ।
नेपाल स्थित बांगलादेश राजदुतावासका फस्ट सेक्रेटरी काउन्सुलर मोहम्मद मसउद आलमको नेतृत्वमा इनरुवा नगरपालिका आइपुगेको सो टोलीलाई इनरुवा नगरपालिकाकी उपप्रमुख पोखरेलले स्वागत समेत गरेकी छिन् ।
सो टोलीले बृद्धासँग एक घण्टा प्रारम्भिक सोधपुछ गरेपछि उनी बांगलादेशी नागरिक रहेको काउन्सुलर मोहम्मदले पुष्टि गरेका छन् । सुनसरी अनलाइनको जिज्ञासामा मोहम्मदले बृद्धालाई बांगलादेश लैजानका निम्ति आफूहरु प्रारम्भिक कामको सुरुवता तत्काल थाल्ने बताए ।
उनले आफनो मुलुकको नागरिकको उद्धारप्रति देखाएको सहानुभूतिका लागि इनरुवा नगरपालिका, उपप्रमुख र किशोर किशोरी समुहलाई धन्यवाद समेत दिएका थिए ।