देउवाले पार्टीको महाधिवेशन राजनीतिक अभियान तथा महायज्ञ पनि भएको आफुले बुझेको बताउँदै भदौमा कुनैपनि परिस्थितिमा महाधिवेशन हुने बताएका छन् । ‘म देशभरीका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु–२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु ।’ देउवाले भनेका छन् ।
उनले महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले गर्न नचाहेको देखाउने गरी पटकपटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् भनेका छन् ।
साथै, देउवाले असार र साउन दुई महिना भित्र महाधिवेशनका सबै पूर्वतयारी गर्नुपर्ने बताएका छन् । ‘पार्टीको क्रियाशिल सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्म्मका अधिवेशनको तयारी लगायत महाधिवशेनको तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशिल सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन् ।’ देउवाले भनेका छन् ।
उनले पार्टीका पदाधिकारी, केन्द्रीय कार्य समिति, स्थानीय तहका पदाधिकारी, सदस्य तथा देशभरीका सदस्य र भातृसंगठन, प्रवास कमिटिहरुलाई महाधिवेशन सम्पन्न गर्न तयारीमा लाग्न भनेका छन् ।