प्रदेश १ सरकारले प्रदेशसभामा आगामी वर्ष २०७८–७९ को वार्षिक अनुमानित बजेट पेस गर्दै छ ।
मंगलबार दिउँसो ३ बजेपछि बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले बजेट प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै मन्त्री आङबुहाङले आर्थिक वर्ष २०७८–७९ को राजस्व र ब्ययको वार्षिक अनुमान, आर्थिक विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कोरोना महामारीका बेला स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार गर्ने गरी प्रदेशसभामा पेस भएको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।
प्रदेश सरकारले आगामी वर्षका लागि करिब ३४ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारका विभिन्न मन्त्रालय र सरकारका निकायलाई ३२ अर्बको सीमाभित्र रहेर कार्यक्रम पेस गर्न भनेको थियो । सोही अनुसार मन्त्रालयबाट सोमबार साँझै सबै योजना प्राप्त भएको बताइएको छ ।
अघिल्लो वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको सिलिङको दोब्बर भन्दा धेरै योजना पेस गरी घटाउन नमानेको भौतिक पूर्वाधार विकास मन्त्रालयले यस पटक भने सीमाभित्रै रहेर आफ्नो कार्यक्रम पेस गरेको छ ।
आर्थिक मामिला मन्त्री नयाँ भएका कारण यस पटक मुख्यमन्त्री स्वयं बजेट निर्माणमा सक्रिय भएका छन् । मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला मन्त्रालयका सचिव केही दिनदेखि बजेटको तयारीमा जुटेका थिए ।
श्रोत: शिलापत्र संवाददाता