इनरुवा । कोरोना महामारीलाई नियन्त्रण तथा रोकथामका लागि सुनसरीका विभिन्न पालिकासहित जिल्ला स्वास्थ्य कार्यालय सुनसरीलाई सेभ द अर्थ सुनसरीले स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।
सेभ द अर्थ सुनसरीको सहकार्य र फेयर मेड नेपाल काठमाडौंको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
स्वास्थ्य कार्यालय सुनसरीलाई अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई सेट, फेससिल्ड, सेनिटाइजर र होम आइसोलेसन किट गरी जम्मा २१ किसिमका स्वास्थ्य सुरक्षाका सामग्रीहरु सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईलाई बुझाएका छन् ।
यसैगरी बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाका प्रमुखहरुलाई भेटेर अक्सिजन कन्सेन्टेटर, अक्सिमिटर, पिपिई सेट, फेससिल्ड, सेनिटाइजर र होम आइसोलेसन किटलगायतका सामग्री प्रदान गरिएको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले बताए ।
बिरामीहरुका लागि काम लाग्ने र आइसोलेसन केन्द्रमा रहेका बिरामीहरुका लागि उपचारमा थप मद्धत पुग्ने उद्धेश्यले विभिन्न पालिकामा सामग्री प्रदान गरिएको सेभ द अर्थ सुनसरीका अध्यक्ष भट्टराईले बताए ।
कोभिडका बिरामीहरुको ज्यान जोखिममा रहेकाले विभिन्न पालिकाहरुमा पुगेर सामग्री प्रदान गरेको र बिरामीको उपचारमा सहज हुने भएकाले आफूहरुको टोली पालिकाहरुमा पुगेर नै प्रदान गरिएको उनले बताए ।