इनरुवा । सुनसरीको इनरुवा–९ बबियाको श्री राजाजी डिहबार ग्रामथान मन्दिरमा गएराति चोरी भएपछि इनरुवाका नगरप्रमुख राजन मेहताले पूजाआजा सुचारु गर्नका लागि एक लाख १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
श्री राजाजी डिहबार ग्रामथान मन्दिरमा ताला फुटाएर मन्दिरमा रहेका समानहरु चोरी गरेर लगेपछि इनरुवाका नगरप्रमुख मेहताले आर्थिक सहयोग गरेका हुन् ।
श्री राजाजी डिहबार ग्रामथान इनरुवा–९ बबिया ९जमुवा० को मन्दिरबाट ताला फुटाएर चोरहरुले सुनको दियो, चाँदीको दियो, सुनको सिक्री, सुनको टीका, चाँदीको सिक्री, पूजा गर्ने सामग्री, दानपेटीमा रहेको रुपैयाँसहित करिब दुई लाख बराबरको समानहरु चोरेर लगेका थिए ।
नगरप्रमुख मेहताले मन्दिर जस्तो ठाउँमा सामान चोरी हुनु दुर्भाग्यपूर्ण भएको बताए । हिन्दुहरुले मन्दिरमा पूजाआजा गर्ने धार्मिकस्थलमा समेत चोरी हुुनु दुर्भाग्यपूर्ण भएको बताउँदै धार्मिकस्थलमा चोरी गर्नेलाई कानुनी दायरामा ल्याउन आफू प्रयासरत रहेको बताए ।
इनरुवाका नगरप्रमुख मेहताले आफ्नो दुई महिनाको तलब बराबरको रकम एक लाख १० हजार नगद मन्दिरका अध्यक्ष शिवनारायण मेहतालाई जिम्मा लगाएका छन् ।
मन्दिरको अनुगमनपश्चात् नगरप्रमुख मेहताले जमुवावासीहरुको रोहवरमा सो रकम हस्तान्तरण गर्दै चोरेर लगेका अति आवश्यक पूजाआजाका सामग्रीहरु किनेर पूजापाठ सूचारु गर्न आग्रहसमेत गरेका छन् ।
त्यसैगरी इनरुवा नगरपालिका–९ नम्बर वडाका वडाध्यक्ष बसिरमुद्धिन मन्सुरीले पनि पूजापाठ सूचारु गर्नका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । स्थानीय, जनप्रतिनिधि र प्रहरीले चोरको खोजी कार्यमा जुटिरहेका छन्