हरिनगर । हरिनगर गाउँपालिका लगायत सुनसरीका विभिन्न ठाउँहरुमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ ।
तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय समयमा वर्षा पनि भइ रहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको चिकित्सकले बताएका छन् ।
सुनसरी जिल्ला अस्पतालका निमित मेसु डाक्टर अनिल आचार्यले अस्पतालमा आउने गरेका बिरामीहरु मध्ये ६० देखि ७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताए । वहाँका अनुसार अहिले अस्पतालमा दैनिक औषतमा ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । यसै गरि हरिनगर प्राथमिक स्वास्थ्य उपचार केन्द्रका इन्चार्ज माधवलाल देवले ३० देखी ३५ जना दैनिक भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका बताएका छन् ।
यसै गरि स्वास्थ्य चौकी रामनगर भुटाहाका ईन्चार्ज विमल मेहताले दैनिक १५ देखी २० जना भाइरल ज्वरोका बिरामीहरु आउने गरेको बताए । त्यस्तै स्वास्थ्य चौकी बसन्तपुर,घुस्की, गौतमपुर, देवानगंज लगायत दक्षिणवर्ती क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुको आँकडा अनुसार भाइरल ज्वरोका बिरामीहरुको संख्या बढेको जनाएका छन् ।
मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेका बेला अचानक पानीमा भिज्ने वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकुलरुपमा मिलाउन नसक्दा इन्फेक्सन भएर भाइरल ज्वरो हुने गरेको चिकित्सकहरु बताउँछन् । यस्तो अवस्थामा मानिसलाई नआत्तिन , झोल पदार्थ बढि खान , पानी बढि पिउन , खानपिन र सरसफाई लगायत स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरुले आग्रह गरेका छन् ।