सुनसरी क्षेत्र नं. ४ नेपाली काँग्रेसका लागि एतिहासीक क्षेत्र हो । प्रजातन्त्रका लागि लडने योद्धाहरुको रणभूमि हो । नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला यसै क्षेत्रबाट जितेकाले पनि यस क्षेत्रको पहिचान नेपालको इतिहासमा विरलै छ । महामानव विशेश्वर प्रसाद कोइरालाको यस क्षेत्रको भुटाहालाई यस्तो ठाउँको रुपमा विकास गर्ने सोच थियो कि नेपाल आउने हरेक विदेशी पाहुनाले भुटाहालाई हेर्न आओस् । किनकी निरंकुश राणाशासनको विरुद्ध लड्दा विशेश्वर प्रसाद कोइराला आफुलाई बढि सुरक्षित र युद्ध रणनीति बनाउने ठाँउ भुटाहालाई नै विश्वास गरेर वहाँ भुटाहालाई सुरक्षित सेल्टर ठाँउको रुपमा प्रयोग गर्नु भएको थियो । यहाँका जनतामाथि पूर्ण विश्वास थियो ।
त्यसैले वहाँ नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्रि बनेपछि सुनसरीको सदरमुकाम भुटाहालाई नै घोषणा गर्नु भयो र सदरमुकाम बनाउनका लागि विभिन्न सरकारी कार्यालयहरुको पक्कि भवनहरु बनाउनु भयो । जनतालाई सेवा लिन सजिलो होस् भनि एकै ठाउँमा बनाइएका त्यसबेलाका सरकारी भवनहरु अहिले जुन जीर्ण अवस्थामा छन् । एतिहासिक, पुरातात्विक ति भवनहरु जो संरक्षणको अभावमा छन् प्रहरी चौकी ,भुटाहा र स्थानीय सुकुम्बासीहरुले प्रयोग गरि रहेका छन् ।
२०४६ सालको प्रजातन्त्र पुर्नबहाली पश्चात स्व.गिरिजा प्रसाद कोइराला पनि पटक पटक यसै क्षेत्रबाट निर्वाचित भई प्रधानमन्त्रि बने , यस्तै मधेश आन्दोलनको आडमा पनि मधेशका मसिहा बनेका उपेन्द्र यादव पनि निर्वाचित भए , नेकपा एमालेका जगदिश कुसियैत पनि काँग्रेस भित्रको विद्रोहको फाइदा उठाएर साँसद बन्न सौभाग्य पाए , अहिले नेपाली काँग्रेसका प्रभावशाली बौद्धिक तथा अति नै सालिन स्वभावका नेता ज्ञानेन्द्र कार्की वर्तमान साँसद छन् र नेपाल सरकारका कानुन तथा न्याय मन्त्रि पनि हुन् ।
यसरी सरसरति हेर्दा सुनसरीको निर्वाचन क्षेत्र नं. ४ मा नेपाल काँग्रेस पार्टीका ठुला नेताहरुले यसै क्षेत्रलाई रोजेर यहाँका जनताका अपार माया प्राप्त गरेका छन् । समयानुकुल विरलै परिस्थितिमा उपेन्द्र यादव र जगदिश कुसियैतले मात्र चुनाव जितेका हुन् ।
क्रुर राणा शासनको बेलामा पनि निडर भई प्रजातन्त्रको पक्षमा उभिएका यस क्षेत्रका जनताहरुले शान्ति र विकास , आवाजविहिनहरुको आवाज ल्याउनका लागि संघर्ष गरे , नेपाली काँग्रेसलाई अथाह माया र स्नेह दिए उनका पिढीहरुले पनि अहिलेसम्म नेपाली काँग्रेसलाई विश्वास गरेकै छन् । यस क्षेत्रलाई काँग्रेसमय बनाएकै छन् ।
इतिहासलाई कायम राखेकै छन् । कम्युनिष्टको प्रभाव र मधेश आन्दोलनको प्रभावले केही समयका लागि यस क्षेत्रको नेतृत्व नेपाली काँग्रेसले गुमाए पनि अन्ततः कालो बादल हटेपछि यहाँका जनताहरुले नेपाली काँग्रेसलाई नै भविष्य मान्दै काँग्रेसमय बनाएको छ ।यहाँका जनता शिक्षा, आर्थिक , स्वास्थ्य, कृषि, उद्योगधन्दा , कलकारखाना , सडक यातायात लगायतका क्षेत्रमा धेरै नै पिछिडिएका छन् ।
राजनितिक चेतनाको हिसाबले धेरै नै पछाडि छन् तथापी प्रजातान्त्रिक विचारधारालाई आत्मसात गर्दै मुटु माथि ढुंगा राखेर भए पनि नेपाली काँग्रेसका लागि सुरक्षित क्षेत्र बनाएका छन् जसको नेतृत्व गर्न नेपाली काँग्रेसका ठुला नेताहरु यस क्षेत्रलाई सुरक्षित ठानेर नै रोज्ने गरेका छन् । विपीको सपना साकार गर्नका लागि होइनन् । यदि वास्तवमा विपिको सपना साकार गर्ने हो भने अहिलेको वर्तमान साँसद कार्कीले सुनसरीको दक्षिणी भेग जहाँ विपीको ठुलो सपनाहरु लुकेका छन् त्यता तिर किन ध्यान दिइ रहेका छैन ? भारतीय दुतावासबाट यताका विद्यालयहरुको भवनहरु किन बन्दैनन् ? , किसानहरुको खेतमा किन सिँचाईको व्यवस्था हुँदैन् ?
, समयमा मलखाद, बिउविजन तथा बजारमा उचित मुल्य किन पाउँदैन ? ,आधुनिक शिक्षण अस्पताल किन बन्दैन ? , बाढि डुवानबाट यहाँका जनता किन मुक्त हुदैन ? , आगलागीको चपेटामा परेर वर्षेनी करौंडोको धनजनको क्षति किन हुन्छ ? , साठि वर्ष पहिला विपीको सपनाको प्रतिक भुटाहामा बनेका जीर्ण भवनहरुको जीर्णोधार गरि पर्यटन विकास तर्फ किन ध्यान दिदैन ?
सवालहरु तितोसत्य छन् एतिहासिक सुनसरी क्षेत्र नम्बर ४ लाई रोज्ने नेपाली काँग्रेसका ठुला नेताहरुले आफु मात्रै सुरक्षित हुने कि जनताको पनि जनसवालहरु प्रति गम्भिर बन्ने त्यतातिर ध्यान दिन जरुरी छ । लेखक:ताविल अंसारी