सप्तरी । राजविराजमा शुक्रवार भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । तीन जना सवार मोटरसाईकलका अर्का एक जना फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विहान ११ बजे तिर राजविराज नगरपालिका १५ स्थित खाँडो खोला पुल नजिकै अनटेष्ट मोटरसाईकल दुर्घटनामा परेको हो ।
तीन जना सवार मोटरसाईकल अनियन्त्रीत भएर खाँडो नदीमा खसेपछी मोटरसाईकल चालक राजविराज नगरपालिका ११ झलही फर्सैठ निवासी २६ वर्षिय विनोद सदाको मृत्यु भएको छ । उनको उपचारको क्रममा स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मोटरसाइकलको पछाडी सीटमा सवार सोही वडा निवासी २१ वर्षिय गौतम सदा घाइते भएका छन् । मोटरसाइकलको पछाडी सीटमा सवार अर्का धनराज सदा भने फरार छन् । धनराज सदाको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
तीन जना सवार तथा अत्याधिक मदिरा सेवनका कारण चालकले नियन्त्रण गुमाउदा गाडी खाडो नदीमा पसेको स्थानिय प्रत्यक्षदर्शीहरुले जानकारी दिए । यद्दपी प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यसबारे यकिन भन्ने सकिने जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताउनुभयो।