इनरुवा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ केन्द्रीय अध्यक्ष अब्दुल सत्तारले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन निर्देशिका सच्याउन माग गरेका छन् । केन्द्रीय अध्यक्ष सत्तारले निर्वाचन निर्देशिका दुई दिन अघि सार्वजनिक गर्नु नै अलोकतान्त्रिक, असमावेशिता, अशोभनिय, अव्यवहारिक भएकोले यथासिघ्र निर्वाचन निर्देशिका सच्याउन माग गरेका हुन् । कांग्रेसको निर्वाचन निर्देशिका नसच्याए देशभर महाधिवेशन विरुद्ध मुस्लिम संघले प्रतिवाद गर्ने चेतावनी समेत उनले दिएका छन् ।
नेपाल मुस्लिम संघले जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक रुपले पछाडि परेका वर्ग, समुदायलाई प्रतिनिधित्व गराउने र अधिकार सुनिश्चित गर्ने लोकतन्त्रको मूल्य मान्यता होइन र ? यदि जनसंख्या वा अन्य अधारमा सबैका निम्ति सहज र सबल नै भएको भए आरक्षण तथा समावेशि सिद्धान्त किन ल्याउनु पर्ने थियो र ? सम्पूर्ण किसिमबाट पछाडि परेकाहरुलाई नै प्रतिनिधित्व गराउनु पर्ने नीति लागू गरिएको होइन र ? यतिका कुराहरु प्रष्ट हुदाँ हुँदै पार्टीका विद्धान नेताहरु कुन अदृश्य शक्तिबाट प्रभावित भई केन्द्रीय समितिका कुनै छलफल नगरी अधिवेशनको दुई दिन अघि निर्देशिका सार्वजनिक गर्नु नै गलत भएको उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसको विद्यानमा र नेपालको संविधानमा सबै समुदायका कलस्टहरुलाई प्रतिनिधित्व हुने व्यवस्था गरिएको बिज्ञप्तिमा उल्लेख छ । कांग्रेसको १४ औं अधिवेशनको निर्वाचन निर्देशिकामा बिभिन्न जालझेल गरी जनसंख्या अधारको एउटा बहाना देखाएर सबैको प्रतिनिधित्वलाई कटौती गर्दै नेपाली कांग्रेस पार्टीलाई असमावेशी, असमानुपातिक, अलोकतान्त्रिक बनाउँदै विगत जस्तै केही सिमित वर्ग, समुदाय र व्यक्तिको वर्चस्व हुने गरी पार्टीलाई कब्जा गर्ने उद्धेश्यले निर्वाचन निर्देशिका बनाएर महाधिवेशन गर्न खोजिएको प्रति नेपाल मुस्लिम संघका महासचिव मोख्तार अहमदद्धारा हस्ताक्षरित विज्ञप्तिबाट घोर आपती जनाएको छ । मनमाना किसिमले बनाइएको अनुसुचि कदापी मान्य नहुने मुस्लिम संघको ठहर छ ।
यसैगरी नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका अध्यक्ष हाजी इस्राइल मंसुरीले समेत महाधिवेशनको बेला निर्वाचन निर्देशिका मान्य नहुने बताएका छन् । नेपाली कांग्रेस आसन्न १४ औ महाधिवेशनको मुखमा नेपाली कांग्रेसको बिधान तथा नियमावलीले गरेको ब्यवस्था विपरीत मुस्लिम समुदायबाट क्रियाशील तथा सक्रिय राजनीती गरेका मुस्लिम समुदायलाई पार्टीको आठौ तह मध्ये महाअधिवेशनको पहिलो तह वडा अधिवेशनमा नै प्रवेश रोक लगाउने गरी भएको ब्यवस्थाको नेपाल मुस्लिम संघ प्रदेश न,१ कार्यसमीतीको गम्भीर ध्यानाकर्षण भएको छ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जालझेल गरी मुस्लिम समुदायको प्रतिनिधित्वलाई पुर्ण निषेध गर्ने गरी आएको निर्देशिकालाई सच्याउनुपर्ने माग राख्दै निर्देशिका नसच्याए १ नम्बर प्रदेशभरी आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन् । यसैगरी मुलुकको बिभिन्न ठाउँमा नेपाली कांग्रेस पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले धर्ना समेत दिएका छन् ।