इनरुवा । इनरुवाका युवाहरुले महानन्द पार्कमा सरसफइ गरेर जिर्ण अवस्थामा रहेको राष्ट्रिय झण्डालाई हटाएर नयाँ झण्डा फहराएका छन् ।
इनरुवाको भगवति माविको पछाडिपट्टि अवस्थित रहेको महानन्द पार्कमा वर्षोंदेखि सरसफई नभएको कारण घाँस,पात लगायत जङ्गली विरुवाहरु उम्रिएको पाइएपछि इनरुवाका युवाहरुले सरसफाई गरेर राष्ट्रिय झण्डा फहराएका हुन् ।
पार्कमा ठुलो ठुलो घाँस र विरुवाहरु पलाउँदा सर्प,किरा फट्याङ्ग्राको त्रासले मानिसहरु पार्कमा समेत जान डराउँथे । इनरुवाका युवाहरुको पहलमा शनिवार महानन्द पार्कमा सरसफाई गरिएको हो । पार्कमा रहेको राष्ट्रिय झण्डा समेत च्यातिसकेको जिर्ण अवस्थामा रहेकोले युवाहरुले नै ठूलो राष्ट्रिय झण्डा बनाएर पार्कमा फहराएपछि पार्कमा रौनक नै बढेको छ ।
सरसफाईमा उत्तम राई,बिनोद,पुकार श्रेष्ठ,गोपाल श्रेष्ठ, ईश्वर पंडित,राकेश निरौला, सु्शान्त पोखरेल,शंकर महराजु लगायत इनरुवाका युवा, समाजसेवी, नागरिक समाज, बुद्धिजीवि लगायतको सरसफाई कार्यक्रममा सहभागिता भएको थियो । पार्कका भएको फोहोरलाई व्यवस्थापन गर्नका लागि इनरुवा–४ को वडा कार्यालयले टयाक्टर उपलब्ध गराएको थियो ।
यसअघि नेपाली कांग्रेसका युवा नेता धिरज भट्टराईले सामाजिक संजालबाट च्यातिएको राष्ट्रिय झण्डाको बारेमा ध्यानाकर्षण गराएपछि केही संचारमाध्यममा समाचार आएपछि इनरुवाका युवाहरुले सरसफाई गरेर नयाँ राष्ट्रिय झण्डा फहराएका छन् ।
शनिवार युवाहरुले सरसफाई गरेर राष्ट्रिय झण्डा फहराएपछि नेपाली कांगे्रस इनरुवा नगर सचिव धिरज भट्टराईले सामाजिक संजालमा यसरी स्टाटस लेखेका छन, “ बोल्ने मुख भन्दा काम गर्ने हातहरु पबित्र हुन्छन । बीच सडकमा च्यातिएको लत्रिएको अवस्थाको राष्ट्रिय स्वाभिमान झण्डा उठाउने यी हातहरुलाइ सलाम छ । केहि नगर्ने केन्द्रीय सरकारका प्रतिनिधि सिडियो साब र स्थानीय सरकारलाइ कुरी कुरी ।”