इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्षको मकुना हात्ती करेण्ट लागेर मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती आइतवार बिहान मृत अवस्थामा फेला परेको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका संरक्षण अधिकृत अशोक रामले करेण्ट लागेर मकुना हात्तीको मृत्यु भएको बताए । एक वर्षभित्रमा मकुना हातीले कोशी गाउँपालिकाका ६ जना सर्वसाधारणहरुलाई आक्रमण गरी ज्यान लिएको संरक्षण अधिकृत रामले बताए ।
मकुना हात्तीले एक वर्षमा ६ जनाको ज्यान लिएपछि स्थानीयबासी त्रसित बन्दै आएका थिए । मकुनाको पोस्टपार्टम आरक्षभित्र गरिएको छ । पोस्टमार्टमको रिपोर्ट एकहप्तापछि आउने आरक्षका संरक्षण अधिकृत रामले जनाएका छन् । उनका अनुसार चरणको क्रममा धानबालीमा लगाइएको करेण्टबाट मकुनाको ज्यान गएको हो । संरक्षण अधिकृत रामले मकुना हात्तीको ज्यान जानु दुःखद कुरा भएको बताए । हात्तीको स्थानन्तरण कुरा चलिरहेको बेला नै मकुना हात्तीको करेण्ट लागेर मृत्यु हुनुले आरक्ष परिवार दुखीत भएको समेत उनले प्रतिक्रिया दिए ।
मकुना हात्ती आरक्षभित्र करेण्ट लागेर मृत्यु भएपनि हात्तीको मृत्यु शंकास्पद रहेको बुझिएको छ । यसअघि कोशी क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तीलाई मार्नका लागि प्रयास गरेपनि चौतफी विरोध भएपछि मकुनालाई संरक्षण गरिएको थियो ।
मकुना हात्तीलाई नियन्त्रण र सर्वसाधारणहरुको सुरक्षाका लागि कोशी आरक्ष क्षेत्र भित्र ट्रन्च निर्माणका लागि केन्द्रले पनि बिशेष ध्यान दिएको बेला मकुना हातीको ज्यान जानु दुःखद भएको बुद्धिजिवीहरुको भनाई छ ।
यसैगरी नेपाली कांग्रेस इनरुवा नगरका पुर्व सचिव धिरज भट्टराईले मकुना हात्तिको मृत्युपश्चात् फेसबुक वालमा लेखेका छन– ‘कोशी टप्पुमा मकुना हात्तीको मृत्युुको खबरले दुखि बनायो । सायद सरकार र आरक्षले षड्यन्त्रपुर्ण हत्या गरेको होला । जे होस ! जनता र जनाबर बिच सन्तुलन कायम गर्न नसक्ने सरकार र जिम्मेवार पक्षलाई धिक्कार छ । मान्छे रहुनजेल फेरि पृथ्वीमा कहिले न जन्मेस, मकुना प्रती श्रद्धाञ्जली ।’ एक हप्तापछिको रिपोर्टले के देखाउँछ सो भने प्रतिक्षाको विषय बनेको छ ।