इनरुवा । सुनसरीको कोशी गाउँपालिका–३ पश्चिमकुशाहा स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ को व्यवस्थापन तथा शिक्षा संकायको पढाई सुरु भएको छ ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले राष्ट्रिय माध्यमिक विद्यालय सोभनपुरमा कक्षा ११ को व्यवस्थापन र शिक्षा संकायको उद्घाटन तथा पाठय पुस्तक वितरण समारोहलाई सम्वोधन गर्दै शिक्षा क्षेत्रमा फड्को मार्दै अगाडी बढेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष अन्सारीले कोशी गाउँपालिकामा शिक्षा क्षेत्रलाई सुन्दर बनाउने कार्यमा जुटेको समेत बताउँदै आफुले प्राथमिक शिक्षा आर्जन यसै विधालयमा गरेको हुदाँ विधालयमा भौतिक संरचनाहरु पुरा गर्दै कक्षा ११ को व्यवस्थापन र शिक्षा संकायको पढाई सुरु भएको बताए ।
राष्ट्रिय माध्यमिक विद्यालय सोभनपुर पश्चिम कुशाहामा पहिलो वर्षमा ३४ जना विधार्थीहरु भर्ना भएकोले पठनपाठन सुरु भएको उनले बताए ।
ग्रामिण क्षेत्रमा कक्षा ११ को पढाई सुरु भएकोले आसपास क्षेत्रका बालबालिकाहरुलाई अध्ययन गर्न सजिलो भएको बताए । गाउँमा कक्ष ११ र १२ को पढाई नहुदाँ विधार्थीहरु बाहिर गएर अध्ययन गर्ने समस्यालाई अन्त्य गर्ने गरी यस विधालयमा पढाई सुचारु गरेको अध्यक्ष अन्सारीको भनाई छ ।
यस विधालयमा संचालन भएको कक्षा ११ को पढाईले पुर्णता पाएको बताउँदै आफ्नो पढाईको यात्रा कक्षा २ बाट प्राथमिक शिक्षा यसै विधालयबाट गरेको हुनाले यस विधालयलाई पालिकाभित्र नमुना विधालय बनाउन लागेको समेत उनले बताए । अध्ययन गर्दा बेन्चको अभावका कारण भुईमा बोरा ओछयाएर अध्ययन गरेको उनको कथन छ ।
कोशी गाउँपालिकाभित्रै यस विधालयलाई सुविधा सम्पन्न बनाउने प्रतिवद्धता व्यक्त गर्दै उनले २२ वर्षपछि यस पालिकामा सबै शिक्षित हुने विश्वास समेत व्यक्त गरे । शिक्षा दिगो विकासका लागि आवश्यक रहेकोले यस क्षेत्रमा कोशी गाउँपालिकाको ध्यान गएको हुदाँ अशिक्षित कोही पनि नरहने गरी शिक्षा क्षेत्रमा तयारी थालनी गरेको समेत अध्यक्ष अन्सारीले बताए ।
विद्यालयका प्रधानाध्यापक हरेकृष्ण प्रसाद राउतले स्वागत मनतब्य व्यक्त गरेका थिए । विधालयका प्रअ राउतले प्राविधिक धार सिभिल इन्जिनियरिङ्ग पढाई कक्षा–८ बाट सुरु भएको बताए । यस विधालयको नाममा एक विघा भन्दा बढी जग्गा रहेपनि आम्दानीको श्रोत बन्न नसकेको उनको गुनासो थियो । यस विधालयमा कोशी गाउँपालिकाको सहयोगमा भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको र शिक्षकहरुको तलबको व्यवस्था समेत पालिकाबाट मिलाउने उनको कथन छ ।
कक्षा ११ मा अध्ययन गर्ने विधार्थीहरुले नयाँ पाठ्यक्रमअनुुसार नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्ने पुस्तक वितरण गरिएको राउतले जानकारी गराएका छन् ।
कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, कोशी–३ का वडाध्यक्ष सुलेमान मंसुरी, शिक्षा शाखा प्रमुख वेदराज अधिकारी, वडा सदस्यहरु र शिक्षक तथा प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।