इनरुवा । नेपाली कांग्रेस सुनसरीको नेतृत्व चयन गर्नका लागि सोमवार सम्पन्न मतगणना पछि आएको नतिजाबाट सचिव पदका उम्मेदवार एक मतले पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यालय सुनसरीमा उजुरी दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जिल्ला अधिवेशनको लागि नेतृत्व चयनका लागि आइतवार सम्पन्न निर्वाचनबाट सोमवार आएको मतपरिणामले सचिव पदका उम्मेदवार भट्टराई एक मतले पराजित भएपछि मतगणना पुनः हुनुपर्ने माग राख्दै उजुरी दिएका हुन् ।
नेपाली कांग्रेस सुनसरीका सभापति पदका उम्मेदवार संजय श्रेष्ठको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका थिए । संस्थापन पक्षबाट सचिव पदको उम्मेदवार बनेका भट्टराईले मतपरिणामको नतिजाबाट एक मतले संस्थापन इतर पक्षबाट माधव बहादुर घिसिङ्गदसँग पराजित भएपछि उनले निर्वाचन कार्यालयमा उजुरी दिएका हुन् ।
संस्थापन इतर पक्षबाट सचिव पदमा बिजयी भएका माधव बहादुर घिसिङ्गले १ हजार २ सय २९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भट्टराईले १ हजार २ सय २८ मत ल्याएपछि सोमवार निर्वाचन अधिकृत उत्तम पौडेललाई पुनः मतगणना हुनुपर्ने माग गर्दै उजुरी दिएका हुन् ।
सचिव पदका उम्मेदवार भट्टराईले मतपरिणाम आफनो पक्षमा आउने जिकिर गर्दै १ मतले पराजित हुन नसक्ने भएकाले निर्वाचन कार्यालयमा उजुरी दिएको बताए ।
जिल्ला निर्वाचन अधिकृत उत्तम पौडेलले सचिव पदका उम्मेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाका लागि उजुरी दिएको बताए । निर्वाचन अधिकृत पौडेलले नेपाली कांग्रेस पार्टी कार्यालय सुनसरीमा मतगणना जारी रहेकोले उजुरी आएको अधारमा निर्णय गर्ने बताए ।